
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काटमाडौं फर्किँदैछन् । परिवारसहित पोखरा भ्रमण सकेर आज दिउँसो उनी हवाईमार्ग हुँदै काठमाडौँ फर्किन लागेका हुन् ।
ज्ञानेन्द्र काठमाडौं आउने भएपछि राजावादी शाक्तिहरुले आज त्रिभुन विमाानस्थलमा दिउँसो १ बजे जुलुससहित स्वागतको तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुट नै तय गरेर जुलुससहित काठमाडौँ एयरपोर्टसम्म पुग्ने तयारी गरेको हो ।
तीनकुने र गौशालामा जम्मा भएर जुलुससहित विमानस्थल पुग्ने कार्यक्रम तय भएको पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुरबाट र काठमाडौँ (कागेश्वरी मनोहरा, पेप्सीकोला, कीर्तिपुर, चन्दागिरी, दक्षिणकाली र नागार्जुन)बाट आउनेहरू तीनकुनेमा भेला हुनेछन् ।
त्यसैगरी नुवाकोट, धादिङ र काठमाडौँको टोखा ,गोकर्णेश्वर र तारकेश्वरबाट आउनेहरूलाई गौशालामा जम्मा हुन भनिएको छ । जोसँग जुन सवारी साधन छ, त्यही प्रयोग गरेर तीनकुने र गौशला पुग्न पार्टीले आग्रह गरेको छ ।
यतिमात्र होइन दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान, राप्रपा नेपाल, शिव सेना नेपाल, नागरिक प्रतिरक्षा बल लगायतले पनि आफ्ना कार्यकर्तालाई पूर्वराजाको स्वागतको लागि विमानस्थल पुग्न आग्रह गरेका छन् ।
राजावादीहरुले जुलुससहित पूर्वराजाको स्वागत गर्ने तयारी गरेपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन रणनीति नै बनाएर सुरक्षा व्यवस्था कडा पारिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
राजावादीहरूले शाहलाई विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवाससम्म पुर्याउन जानेछन् । प्रहरीले विमानस्थलदेखि निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सो रुटमा सुरक्षा व्यवस्था कडा पारेको छ ।