Logo
Logo

ट्रम्पको चेतावनीले रोकिएन रुस, युक्रेनमाथि लगातार आक्रमण


3.7k
Shares

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमणलाई तीव्र बनाएको छ । शुक्रबार र शनिबार रुसीमा आक्रमणबाट ५ बालबालिकासहित १४ जनाको युक्रनीको मृत्यु भएको छ भने ३७ जनाभन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेसँगै रूसले युक्रेनमाथि आक्रमण बढाएको हो । रुसले बिहीबारदेखि युक्रेनका विभिन्न भूभागहरुमा मिसाइल, रकेट र ड्रोनले आक्रमण गरिरहेको समाचारमा उल्लेख छ ।

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायतासँगै गुप्तचर सूचनाहरुको आदान–प्रदानसमेत रोकेको छ । यसको फाइदा उठाउँदै रुसले तीन दिनयता युक्रेनमाथि आक्रमण जारी राखेको छ ।

शुक्रबार रातभरि युक्रेनका सहर र वस्तीहरूमा रूसी मिसाइल, ड्रोन र रकेट आक्रमण भएको थियो । बिबिसीका अनुसार शनिबार राति युक्रेनका दोनेत्स्क र खार्किभ क्षेत्रमा आक्रमण गर्दा त्यहाँ ११ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

रूसी आक्रमणबाट दुई दिनयता २५ जनाको मृत्यु भएको छ । शुक्रबार रूसले युक्रेनको ऊर्जा र ग्यास भण्डारमा मिसाइल आक्रमण गरेको थियो । यो आक्रमण अमेरिकाले युक्रेनलाई दिएको सैन्य सहायता रोकेपछिको पहिलो ठूलो आक्रमण भनिएको छ ।

यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई छिट्टै शान्ति वार्तामा आउन चेतावनी दिएका छन् । साउदी अरबमा वार्ताको सुरूवातका बाबजुद पनि रूसले युक्रेनमाथि आक्रमण गरिरहेको भन्दै ट्रम्पले रुसलाई शान्ति वार्तामा बिलम्ब नगर्न चेतावनी दिएका छन् । तर, ट्रम्पको चेतावनी वेवास्ता गर्दै रुसले अझ युक्रेनमाथि आक्रमण तिव्र बनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्