काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र समर्थनमा आज राजावादीहरुले शक्ति प्रदर्शन गर्दैछन् । तर, यतिखेर प्रधानमन्त्री र गृहमन्त्रीले भने काठमाडौंमा छैनन् । उनीहरु दुवैजना आज उपत्यकाबाहिर हुनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम जाँदैछन् । गृहमन्त्री रमेश लेखक केही दिनदेखि नै पश्चिममा छन् । सुदूरका विभिन्न जिल्ला पुगेर उनी आइतबार बिहानै कर्णाली पुगेका छन् ।
सुर्खेतस्थित एउटा गोदाम प्रदेश सरकारलाई हस्तान्तरण गरेर गृहमन्त्री लेखक जाजरकोटतिर लागेका हुन् । उनले त्यहाँ भूकम्पपीडितका लागि भूकम्पीय पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यान्वयन कार्यालयको स्थापना गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यस्तै, प्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दैछन् । दिउँसो १ बजे सुरु हुने प्रदेशसभा बैठकमा सम्बोधन गर्न आज गएका हुन् । योसँगै ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्तमा पनि सहभागी हुने कार्यक्रम छ ।
जाजरकोट जाँदै गरेका गृहमन्त्री रमेश लेखकले सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुराकानी गरेका थिए । गृहमन्त्री लेखकले ‘काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको’ प्रतिक्रिया दिएका थिए । राजावादीको आन्दोलनका सन्दर्भमा उनले ‘ज्ञानेन्द्र शाह हौसिन र अरु डराउनुपर्ने अवस्था नरहेको’ बताए ।
काठमाडौंमा पूर्वराजालाई ‘स्वागत’ गर्ने राजसंस्था पक्षधरहरूको भीड व्यवस्थापनका लागि सबै सुरक्षा संयन्त्रले तयारी गरेका छन् ।
पूर्वराजा शाह आज पोखराबाट काठमाडौं फर्किदैंछन् । उनी एकसाता पोखरा बसरे काठमाडौं आउन लागेका हुन् । उनको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा दुर्गा प्रसाईंको समूहलगायत विभिन्न हिन्दुवादी र राजसंस्था पक्षधरले विमानस्थलमा जम्मा हुन आह्वान गरेका छन् ।
शनिबार रातिदेखि नै काठमाडौंका नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि सुरक्षा संयन्त्रको बैठक बसाएर त्यसकारे ब्रिफिङ लिएको छ । त्यहाँ प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारीले कानुन उल्लंघन हुने खालका कुनैपनि हुलहुज्जत तथा अमर्यादित कार्य रोक्नका लागि सुरक्षा व्यवस्था कडा गर्न निर्देशन दिएका छन् ।