
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले दुई केन्द्रीय नेतालाई पदबाट हटाएको छ । पार्टीले अनुशासन समितिका केन्द्रीय संयोजक दीपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट हटाएको हो ।
उनीहरुलाई केन्द्रीय समिति बैठकअघि पदबाट हटाइएको हो । जनमतको केन्द्रीय समितिको बैठक आजदेखि बर्दिबासमा सुरु भएको छ । उपाध्यक्ष समेत रहेका साहले आफुलाई केन्द्रीय बैठकअघि संयोजक पदबाट हटाइएको जानकारी दिए ।
जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार अनुशासन समितिको संयोजक साहलाई एक साताअघि नै निलम्बन गरिएको हो ।
केन्द्रीय कोषाध्यक्ष यादवलाई हटाउँदा चार बुँदेमा आर्थिक अनियमितता र निर्वाचनमा पार्टी अध्यक्षलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ । पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघमा आबद्ध रहेका विदेशमा बस्दै आएका ६० जनाभन्दा बढी कार्यकर्ता रकम उठाएको उनलाई आरोप लगाइएको छ ।
गत निर्वाचनमा उपल्लो तहका नेता कार्यकर्ताहरूलाई भड्काएर, निष्क्रिय बनाउन लगाइ अध्यक्ष राउत हराउने गरी कोषाध्यक्ष यादवले भूमिका खेलेकोले निलम्बन गरिएको पत्रमा उल्लेख छ ।