
काठमाडौं । जाजरकोटमा आगलागीमा परेर एक बालकको मृत्यु भएको छ । गएराति १२ बजेको समयमा कुशे गाउँपालिका–८ ग्राक्ली निवासी जनक रोकायाको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा अम्मर रोकायाको मृत्यु भएको हो ।
घरको माथिल्लो तलामा खाना बनाउन बालेको आगोबाट एक्कासी आगलागी हुँदा सोही कोठामा सुतिरहेका बालकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
उक्त आगलागीबाट घर पूर्ण रुपमा जलेको छ । घरसँगै घरभित्र भित्र रहेको अन्नपात, भाडा बर्तन, लत्ताकपडा, ८ आनाको सुनको तिलहरी र नगद एक लाख पच्चिस हजार रुपैयाँसमेत जली नष्ट भएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा बिहान ४ बजेको पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।











