काठमाडौं । गत पुसमा सत्तारुढ दल नेकपा एमालेको दरबारमार्गमा भएको जागरसभामा फोहोरको विषयलाई लिएर काठमाडौं महानगर र नेकपा एमालेबीच टकराबको स्थिति पैदा भयो ।
एमालेले गत मंसिर ७ गते दरबारमार्गमा जागरण सभा गरेको थियो । भद्रकालीबाट निकालिएको र्याली दरबारमार्गमा पुगेको ‘जागरण सभा’ मा परिणत भएको थियो । जागरण सभा सकिए लगतै सभामा आएकाहरूबाट महानगर क्षेत्रमा फोहोर मैला र वातावरण प्रदूषण भएको भन्दै महानगरले एक लाख जरिबाना तोकेको थियो।

महानगरले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिबाना तिर्न भनेको थियो ।
तर, एमालेले महानगरले तोकेको जरिवाना पत्रलाई ‘औचित्यहीन चिर्कटो’ भन्दै प्रतिक्रिया दिए । सभा नसकिँदै आफ्ना स्वयंसेवकले सरसफाइ गरिरहेका बेला महानगरका मेयर बालेन्द्र साहले ‘स्टन्टबाजी’का लागि उक्त पत्र जारी गरेको एमाले नेताहरूले आरोप लगाए ।
महानगरको सो निर्णय लगतै एमालेका महासचिव शंकर पोखरेलले फेसबुकमा लामो स्ट्याटस लेख्दै मेयर बालेन एमालेविरुद्ध परिचालित रहेको भन्दै प्रतिक्रिया दिएका थिए ।
उनले लेखेका थिए– ‘काठमाण्डौं महानगरका मेयर बालेन नेकपा एमालेका विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ। कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो ।
संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो, अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा। जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यति वेला स्वयम् सेवकहरू कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो।’
उनले मेयरको ध्यान सरसफाइमा नभएर जरिवानाको स्टणन्टवाजीमा गएको बताएका थिए । त्यस्तै एमालेकै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ‘औचित्यहीन चिर्कटो’ भन्दै एमालेले महानगरले तोकेको जरिवाना नतिर्ने बताएका थिए ।
त्यसपछि महानगरको टोली जरिवाना पत्र लिएर एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुग्यो । तर एमाले केन्द्रीय कार्यालयले आफूहरू कार्यक्रमको आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको थियो ।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताएका थिए । उनले भनेका थिए– ‘यो चिठी बेठिक ठाउँमा आइपुग्यो, यो चिठीको आयोजक नेकपा एमाले केन्द्रीय कार्यालय होइन । महानगरले सामान्य कुरा के बुझ्नुपर्छ भने को आयोजक हो भन्ने कुरा थाहा पाउनुपर्छ । यो चिठी बुझाउन यसरी जे हर्कत गरिएको छ, एकदमै बेठिक भएको छ। मेयर सावले जे कुरा गरिरहनुभएको छ, नेपालमा सायद कुनैपनि कार्यालयमा चिठी बुझाउन जाँदा यस्तो तरिकाले आइँदैन । जो आयोजक हो, आयोजकलाई लगेर चिठी बुझाउनु होला। सामान्य प्रशासनिक कुरा पनि बुझ्नुहोला। यो बिल्कुल स्टन्टबाजी हो। कार्यक्रम सकिएपछि सफा गरिएको छ। त्यो चिठी अघिल्लो दिन नै प्रिन्ट गरेर राखिएको छ। कार्यक्रम नसकिँदै चिठी मिडियामा लगिएको छ। एमालेको इतिहास हेर्नुस्, एमालेले कहिले पनि आफूले कार्यक्रम गरेको ठाउँमा फोहोर छोडेको छैन ।’
एमालेले जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि सोमबार महानगरले सो पत्र हुलाक र इमेलमार्फत पठायो । एमालेलाई जरिवाना तिराउन महानगरले वारम्बार आग्रह गर्दा पनि अहिलेसम्म तिरेको छैन ।
यदि जरिवाना तिर्न अटेर गरे आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व ऐन २०७६ अनुसार कारबाही अगाडि बढाउने पनि साहले बताए थिए । उनले भने, ‘यदि उहाँहरूले जरिवाना तिर्न अटेर गरे। सरकारको असुल उपर भन्ने कानुन हुन्छ। त्यही अनुसार कारबाही अगाडि बढाउँछौँ ।’ तर, अहिलेसम्म पनि एमालेलाई कारबाही पनि भएको छैन ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सोही प्रकृतिको घटनामा काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना तिरेको छ ।
महानगरले जरिवानापत्र बुझाएको २४ घण्टा नपुग्दै आज सोमबार दिउँसो १ बजे राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायत महानगरको कार्यालयमै पुगेर जरिवाना बुझाएका हुन् ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई एक लाखको जरिवाना पत्र काटेको थियो ।
महानगरको पत्रमा एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड, बिरुवा र रेलिङमा भौतिक क्षति पुर्याएको उल्लेख थियो ।
महानगरलाई एक लाख जरिवाना बुझाएपछि शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र पार्टीको राय व्यक्त गरेका छन् ।
“हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा, दाजुभाइ दिदीबहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगरपालिकाको निर्णयलाई हामी स्विकार्दछौँ । एक लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौँ,” शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
राप्रपाले जरिवाना बुझाएको यो पहिलोपल्ट भने होइन । यसअघि ०८० चैत्र २७ गते राप्रपाले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो ।
सो क्रममा विभिन्न ठाउँमा फोहोर गरेको र ट्राफिक आयरल्यान्डमा क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई पाँच हजार जरिवाना तिराएको थियो ।
महानगरको अनुसार आर्थिक वर्ष २०८१/०८२ माघदेखिको अहिलेसम्म संस्था तथा व्यक्तिहरूलाई जरिवाना गराइएको छ ।
महानगरको अनुसार अहिलेसम्म राप्रपासहित २२३ संस्था तथा व्यक्तिलाई सार्वजनिक स्थलमा जथाभावी फोहोर फालेकै कसुरमा जरिवाना तिराइएको छ ।
जसमध्ये २१६ जनालाई जनही पाँच हजारका दरले १० लाख ३० हजार जरिवाना तिराएको छ ।
त्यस्तै, विभिन्न ६ वटा क्लिनिक तथा अस्पताललाई ५० हजारका दरले तीन लाख रुपैयाँ जरिवाना तिराएको महानगरले जनाएको छ ।