काठमाडौँ । संसद्बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ।
आज सोमबार सभामुख देवराज घिमिरेले डाकेको प्रमुख सचेतक र सचेतकहरूको बैठकले प्रतिस्थापन विधेयक अघि बढाउन संसद्को कार्यसूचीमा राख्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले फागुन २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा यसअघि स्वीकृत अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रियाअघि बढाइने बताए।
‘सरकारले अध्यादेश स्वीकृत भएपछि स्वीकृत अध्यादेश बमोजिम प्रतिस्थापन विधेयक पनि संसद्मा दर्ता गरिसकेको छ। त्यसलाई कार्यसूचीान समावेश गर्ने विषयमा आज छलफल भएको हो,’ उनले भने, ‘त्यसलाई २८ गतेको बैठकमा प्रतिष्थापन विधेयकलाई कार्यसूचिमा समावेश गरेर जाने भन्नेगरीको छलफल भयो। संसदमा सरकारले दर्ता गरेको ५ वटै प्रतिस्थापन विधेयकलाई २८ गते नै पेस गरी प्रक्रिया आरम्भ गर्छौं।’














