Logo
Logo

तत्कालीन प्रमुख आयुक्त रञ्जितले स्काउट तहसनहस  बनाएको आरोप 


756
Shares

काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले स्काउटका तत्कालीन प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटलाई डेढ वर्षदेखि बन्धक बनाएको आरोप लगाएका छन् । 

सोमवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले तत्कालीन प्रमुख आयुक्तले स्काउटको ७२ वर्षको इतिहास तहसनहस गरी संस्थामा गुन्डाराज मच्चाएको आरोप लगाए । 

गत फागुन ७ गते युवा तथा खेलकुदमन्त्री एवं प्रमुख स्काउट तेजुलाल चौधरीले स्काउटका प्रमुख आयुक्त रञ्जितलाई पदबाट हटाएका थिए । 

रञ्जितको स्थानमा देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाइएको छ । नयाँ नेतृत्व आएपश्चात् विद्यमान परिस्थितिबारे सत्यतथ्य जानकारी लिई उजागर भएका समस्याहरूलाई समाधान गर्न लागिपरेको उनको दाबी छ ।

उनले भने,  ‘संस्थालाई कुनै व्यक्ति वा समूहले बन्धक बनाउन मिल्दैन, तर हाम्रो संस्था आफ्नै केन्द्रीय नेतृत्वबाट विगत ७२ वर्षदेखि बन्धक हुन पुगेको थियो । तत्कालीन प्रमुख आयुक्तले नेपाल स्काउटको ७२ वर्षको इतिहासलाई तहसनहस गर्ने गरी संस्थामा गुन्डाराज मच्चाउने, संस्थालाई राजनीतिक रूपमा खण्डित गर्ने र व्यक्तिगत चरित्रहत्या गर्ने लगायतका कार्यहरूले गर्दा संस्थाको स्वच्छ छवि धुमलिन पुगेको छ ।’

उनले स्काउटसम्बन्धी ऐन संशोधनको लागि सातवटै प्रदेशबाट सुझावहरू संकलनको काम भइरहेको उल्लेख गर्दै संसदको अगामी अधिवेशनबाट नयाँ ऐन प्राप्त गर्ने पहलकदमी सुरु भइसकेको बताए । 

उनले नयाँ नेतृत्व आएपश्चात् रोकिएर रहेका आयोजना एवं नयाँ समझदारीका लागि समेत पहलकदमी सुरु भएको जानकारी समेत दिए । उनले स्काउटको नयाँ नेतृत्व भिजन २०३२ लाई सफल पार्न प्रतिबद्ध भई काम गरिरहेको दाबी समेत गरे । नयाँ नेतृत्वले स्थानीय र प्रदेश तहमा पनि नयाँ उत्साह थपिएको र युद्धस्तरको कामलाई निरन्तरता दिने बताएको छ।

नयाँ नेतृत्वले आगामी २०८२ फागुनमा चौथो राष्ट्रिय ज्याम्बोरी आयोजना गर्ने, राष्ट्रिय युवा परिषद्लाई सक्रिय बनाउने, महिला विभागको राष्ट्रिय भेला आयोजना गर्ने, ऐन संशोधनका लागि पहल गर्ने, विश्व स्काउटको उच्चस्तरीय टोलीलाई नेपाल भ्रमण गराउने, रोकिएका परियोजना सुचारु गर्ने र नयाँ साझेदारीका लागि पहल गर्ने योजना सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्