काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कारण प्रतिक्रियाबादीहरुले टाउको उठाउने मौका पाएको टिप्पणी गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको समाजवादी मोर्चाको बैठकको तयारीसम्बन्धी छलफलपछि अध्यक्ष प्रचण्डले सरकारका कारण जनतामा निराशा छाएको र त्यसैलाई प्रतिक्रियाबादीले फाइदा उठाउन खोजेको टिप्पणी गरेका हुन् । यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ ।
प्रचण्डले सरकारको समस्या समाधानमा सरकारको ध्यान केन्द्रित हुन नसकेको र सेटिङमा व्यस्त रहेको आरोप लगाए । गणतन्त्रवादीहरू एक भएर अघि बढ्ने विषयमा सल्लाह भइरहेको उनको भनाइ छ ।
प्रचण्डलाई ‘राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?’ भन्ने प्रश्नको जवाफमा प्रचण्डले भनेका छन्, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले । यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ । सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ । जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ । हामी सल्लाह गर्दैछौँ ।’