Logo
Logo

भाजपा नेता योगी आदित्यनाथको फोटो राख्ने एमाले कि राजावादी ? 


4k
Shares

काठमाडौं । करिब एक महिना पोखरा बसेर काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई आइतबार राप्रपा र राप्रपा नेपालसहितका राजावादीहरूले भव्य स्वागत गरे । राष्ट्रिय झन्डा, पूर्वराजा शाहको तस्बिरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्ममै उनको स्वागत भयो । पूर्वराजा शाहको स्वागत गर्दै उनीहरूले गणतन्त्र विरोध र राजसंस्था पुनः स्थापनाको माग गर्दै नाराजुलुस लगाए । 

उक्त भिडमा एउटा फरक फोटो पनि देखियो । त्यो थियो भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका भारतीय जनता पार्टी (भाजपा) का नेता योगी आदित्यनाथको । योगी आदित्यनाथको फोटोमुनि ‘राजसंस्था पुनस्र्थापना गरौं, हिन्दुवादी प्रदीपविक्रम राणा’ लेखिएको थियो । पूर्वराजा शाहको स्वागत कार्यक्रममा भारतीय मुख्यमन्त्री आदित्यनाथको फोटो देखिएपछि यसलाई लिएर सामाजिक सञ्जालहरूमा चर्चा भइरहेको छ । योगि आदित्यनाथको ठूलो फोटो र ज्ञानेन्द्रको फोटो जोडेर गर्न खोजिएको प्रचारको अर्थ के ? नेपाल जहिले पनि अर्को मुलुकको इशारामा परिवर्तनका एजेण्डा बोक्ने स्थितिमै हो ? भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया आउने क्रम जारी छ । 

यसै विषयलाई लिएर अहिले सत्तारुढ दल नेकपा एमाले र राप्रपाका नेताहरूबिच सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले राजावादी जुलुसमा प्रयोग गरिएको भाजपाका नेतासमेत रहेका योगी आदित्यनाथको तस्बिर सार्वजनिक गर्दै कटाक्ष गरेका छन् । पूर्वराजा शाहको स्वागतमा देखिएको उक्त दृश्यले कथित राष्ट्रवादको मुखुण्डो राम्रैसँग उतारिदिएको उनको टिप्पणी छ । 

रिजालले सामाजिक सञ्जालमा लेखेका छन्– ‘यो सात साल होइन । त्यतिबेला भागेर भारतीय दूतावासमा शरण लिँदै दिल्ली पुगेका त्रिभुवनलाई भारतले गद्दीमा फर्काइदिएझैँ अहिले जनआन्दोलनबाट सत्ताच्यूत भएका ज्ञानेन्द्रलाई कसैले फर्काइदिन्छ भनेर मुख नमिठ्याए हुन्छ जुन योगीको तस्बिर बोकेर प्रदर्शन भएको छ, तिनैको राज्य उत्तर प्रदेशमा ५० करोड मानिसले कुम्भमा भाग लिँदा ‘हिन्दू सम्राट’ भनेर दाबी गर्ने ज्ञानेन्द्रले कोसिस गर्दा पनि निम्तो नपाइएको भर्खरै हो । गणतन्त्रको विरोध गर्दा ‘विदेशीले ल्याइदिएको’ भनेर जनताको मानमर्दन गर्ने तर गुमेको सत्ता फर्काउन विदेशीको दलाली गर्ने कुराले कथित राष्ट्रवादको मुखुण्डो राम्रैसँग उतारिदिएको छ ।’

एमाले नेता रिजालको उक्त टिप्पणीपछि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजा शाहको स्वागतमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपि ओलि ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाइएको पाइएको छ । नेपाली राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् । विदेशीको एजेन्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? मार्क्स, लेलिन्, माओ कुन देशका हुन ?’

राप्रपा नेता शाहीको उक्त अारोपपछि प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार समेत रहेका एमाले नेता विष्णु रिमालले पनि सामाजिक सञ्जालमाफर्त नै खण्डन गरेका छन् ।  सांसद समेत रहेका राप्रपा नेता शाही लक्षित गर्दै उनले लेखेका छन्– ‘काँक्रा चोरहरू, काँक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टॉसी कुलेलम ठोक्छन् । दलालहरू, पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् । डिसईन्फरमेसनको सहारामा संयोगवश मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाईने भ्रम यस्तै हो । यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५÷५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल–जवाफ गर्नु छैन । कसले कहॉ के गर्दैछ समाचार त आएकै छ नि ।’

पूर्वराजाको स्वागतमा योगी आदित्यनाथको फोटो र ब्यानरको प्रयोगबारे अरु दल नेताहरूले पनि विभिन्न टिप्पणी गर्न थालेका छन् । त्यसो त माघको पहिलो साता पूर्वराजा शाह भारत भ्रमणमा जाँदा योगी आदित्यनाथसँग भेटवार्ता समेत गरेका थिए । योगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्तै ठूला विश्वासपात्र हुन् । भारतको उदयीमान नेता र भावी प्रधानमन्त्रीको रुपमा कहलिएका आदित्यनाथसँग पूर्वराजा शाहको तारन्तारको भेटले भारत पनि नेपालमा राजतन्त्र फर्काउन सकारात्मक भएको कतिपयले बताउने गरेका छन् ।

यहीबेला राजावादीहरूले योगी आदित्यनाथको फोटो प्रयोग गरेपछि राजावादी र राप्रपामाथिको प्रश्न थप पेचिलो बनेको छ । राजेन्द्र लिङ्देन र कमल थापा नेतृत्वको राप्रपाले आदित्यनाथको फोटो राख्ने व्यक्ति प्रदीप बिक्रम राणा आफ्नो पार्टीमा नरहेको भनेपनि असंगठित रुपमा चलेको यस्तो प्रदर्शनले व्यवस्थाविरुद्धको कर्म गर्न सक्छ ? अनेक प्रश्नहरु देखिन्छन् ।

उसोतः राणा पहिले राप्रपामै सक्रिय रहेका व्यक्ति हुन् । राणा २०७३ सालको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित बनेको देखिन्छ । यस्तो स्थितिले पनि प्रदर्शनमा देखिएको यो ब्यानरको सन्देश र अर्थ खोज्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्