
काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा शर्मालाई दुई वर्षका लागि वीर अस्पतालको निर्देशक नियुक्त गरेका हुन् ।
न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार डा. शर्मासहित डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका डा. शर्मालाई अस्पताल निर्देशकको जिम्मेवारी दिएका हुन् ।
वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ समेत रहेका शर्माले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।
डा शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार भएर काम गरिसकेका छन् । वीरको निर्देशक डा. सन्तोष पौडेलको दुई वर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।