काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रप्रति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले गरेको प्रतिबद्धताको सराहना गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री थापाले प्रचण्डले लोकतन्त्र र संविधानप्रति गरेको चिन्ताको सराहना गर्दै भने, ‘प्रचण्डजीले राखेको अभिव्यक्ति सुन्ने मौका पाएँ । खासगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु । हामी सबै यो व्यवस्था र संविधानप्रति उत्तिकै प्रतिबद्ध छौँ ।’
त्यस्तै, उनले सबै मिलेर ल्याएको संविधान र व्यवस्था जोगाउन उत्तिकै प्रतिबद्ध रहेको भन्दै कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पुग्नु कुनै एक घटना मात्र कारण नरहेको बताए । महामन्त्री थापाले जनता असन्तुष्ट रहेको स्वीकार गरे पनि सरकारसँग असन्तुष्ट नभएको दाबी गरे ।