काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले लोकतन्त्र नचाहने शक्तिहरूले पूर्व राजा फर्काउने प्रयास भइरहेको भन्दै लोकतन्त्र पक्षधरबिच सहकार्य र हातेमालो गर्न जरुरी रहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै विष्टले भने, ‘विरोध गर्ने अधिकार र चेत पनि लोकतन्त्रबाटै प्राप्त भएको छ । लोकतन्त्रभित्रै लोकतन्त्रको विरोध गर्ने प्रवृत्ति पनि देखा परेका छन् । लोकतन्त्र प्राप्तिमा सहकार्य गरेका शक्तिहरू गम्भीरतासाथ हातेमालो गर्न जरुरी छ ।’
विष्टले लोकतन्त्रकै कारण जनता सार्वभौम भएको भन्दै लोकतन्त्रविना जनता स्वतन्त्र र आत्मसम्मान प्राप्त भएको बताए । उनले भने, ‘तर आज यो कुरालाई देख्न नचाहने कतिपय शक्तिहरूले पूर्वराजालाई फर्काउने कोसिस गरेका छन्, आऊ भन्ने अपिल गरेका छन् । पूर्वराजाले पनि फेरि राजा बन्ने चाहना व्यक्त गरेका छन् ।’
नले प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले सरकारका कारण चौतर्फी निराशा छाएको भन्ने अभिव्यक्तिको खण्डन समेत गरे । ‘उहाँले गणतन्त्रप्राप्ति पछि पटक पटक सरकारको नेतृत्व गर्नुभएको छ । यति राम्रा काम भएका छन् जस लिनुपर्छ, कमजोरी भएका छन् जिम्मेवारी पनि लिनुपर्छ’, उनले भने, ‘कतै यस प्रकारका अभिव्यक्तिले संविधानको उल्लङ्घन गर्न चाहने शक्तिहरूलाई प्रश्रय त गरिरहेको छैन ?’
सचिव विष्टले सबै जिम्मेवारीबाट माओवादी उम्कन मिल्छ भन्दै एउटै डुङ्गामा यात्रारत सबै डुब्नुपर्छ भन्ने हेक्का राख्न प्रचण्डलाई आग्रह गरे । सुशासन र पारदर्शिताका लागि मिलेर नै काम गर्नुपर्नेमा आरोप प्रत्यारोपले कहीँ नपुगिने विष्टको भनाइ छ ।