Logo
Logo

निर्मला प्रकरणः डिएनए प्रक्रियामै त्रुटि, चिकित्सक र थप प्रहरी कारबाहीमा पर्दैै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ माघ
बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान डिएनए परिक्षणमै त्रुटि भएको निष्कर्ष राष्ट्रिय मानव अधिकार आयोगले निकालेको छ । डिएनएको नमुना संकलन र परिक्षणमै त्रुटि भएको भन्दै आयोगले ‘ह्युमेन इन्टेलिजेन्स’ लगायत अन्य माध्यमबाट अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ ।


आयोगले गठन गरेको विज्ञसहितको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनका आधारमा आयोगले आइतबार सरकारलाई निर्देशन दिएको हो । कुनै आरोपीको डिएनए भजाइनल स्वावको डिएनएसँग शतप्रतिशत मिले पनि सोही व्यक्ति बलात्कारपछि हत्यामा संलन्न भन्न नसकिने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ,‘डिएनए परिक्षणका लागि भजाइनल स्वाब लगायतका नमुनाहरु संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएकोमा यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था नरहेको । यसरी संकलन गरी टेष्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने , नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्ने जस्ता समस्या रहेको पाइयो । मूलतः नमूनाहरु संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो ।’
डिएनए परिक्षण विधि नै गलत ?
साथै डिएनए परिक्षण प्रविधि नै गलत भएको समेत औंल्याएको छ । ‘डिएनए परिक्षणमा वाई एसटिआर प्रविधिबाट मात्र परिक्षण भयो, यसबाट बंश तथा समूह पहिचानमा मात्र सहयोग पुग्ने तर व्यक्ति पहिचान गर्न सकिने अटोसोमल परिक्षण प्रविधि प्रयोग गरेको पाइएन ।’ डिएनए परिक्षणमा वाई एसटिआर भन्दा अटोसोमल प्रविधि अवलम्बन गरेको खण्डमा अभियुक्त पत्ता लाग्ने धेरै सम्भावना रहेको छानबिन टोलीको निष्कर्ष छ । तर, नमुनाहरु मिश्रित रुपमा परिक्षण गर्दा अटोसोमल प्रविधि सम्भव नभएको र यसमा चिकित्सकको कमजोरी भएको औल्याइएको छ । दुवै प्रविधिबाट डिएनए परिक्षण गर्नुपर्ने अनुसन्धान समितिको निष्कर्ष छ ।
तीन वटा भजाइनल स्वावमा पुरुष डिएनएको मात्रा फरक फरक पाइएको , डिएनए मात्रा अत्याधिक कम भएकाले सहि परिणाम आउन नसक्ने अवस्था नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
आयोगले डिएनए अपराधीसँग डिएनए शतप्रतिशत मिल्न नसक्ने समेत जनाएको छ । प्रतिवेदनमा भनिएको छ,‘यस केसमा भेजिनल स्वाव नमूनाबाट प्राप्त १६ वटा वाई एसठिआर नजिता आगामी दिनमा कुनै आरोपितसँग मिलेको अवस्थामा निज अपराधी भएको एक मात्र बलियो आधार हुन सक्दैन । नेपालको एक अध्ययनमा फरक भौगोलिक क्षेत्रका फरक थर भएका व्यक्तिहरुबीच १५ वटासम्म वाई एसटिआर मिलेको पाइन्छ । संयोग नै हुनसक्दछ यो अध्ययनमा परेका बडु थरका व्यत्तिः तथा निर्मला पन्त केशमा आरोपित बढु थरका व्यक्तबीच शतप्रतिशत वाई एसटिआर मिलेको छ । वाई एसटिआरबाट व्यक्ति किटान सम्भंव हुँदैन । शत प्रतिशत मिलेको अवस्थामा निज बाहेक सो डिएनए अन्य व्यक्तिमा भए नभएको, भए कति जनामा भएको जानकारी(डाटा)आवश्यक हुन्छ ।’
आयोगले सुरुवाती परिक्षणमा मुख्य भेजिनल स्वावको प्रयोग, सो मसेतबाट न्यून पुरुष डिएनए प्राप्ति, लामो समयसम्म भेजिनल स्वाव यथास्थितीमा रहन नसक्नु जस्ता आधारमा बाँकी भेजिनल स्वावबाट थप नजितामूकल परीक्षणको सम्भावना अत्यन्त कम रहेको जनाएको छ ।
चिकित्सक र प्राविधिकमाथि समेत छानबिन गर्न सिफारिस
मेडिको लिगल प्रक्रिया र नमुना संकलन प्रक्रियामा चिकित्सकको कमजोरी रहेको र अटोसोमल प्रविधिबाट डिएनए परिक्षण सम्भव हुँदा हुँदै सो नगरी वाई एसटिआर प्रविधिबाट मात्र परिक्षण गरिएको चिकित्सक तथा प्राविधिकलाई छानबिन गरी कारबाही गर्न आयोगले सिफारिस गरेको छ । जसअनुसार अञ्चल प्रहरी कार्यालय महाकाली र प्रहरीको केन्द्रीय बिधि बिज्ञान प्रयोगशालाका प्रहरी समेत कारबाहीमा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्