Logo
Logo

आगामी स्ववियु चुनावः मिनि जनमत संग्रह र मिनि संग्रामस्थल


- दृष्टि न्युज/संवाददाता




आगामी फागुण १४ गते त्रिविमा स्ववियुको चुनाव घोषणा भएकोछ । फागुण ३ गते नै केपि ओली प्रधानमन्त्री हुनु भएको एक वर्ष पुग्दैछ । यस अर्थमा फागुण १४ गते हुने स्ववियु चुनाव वर्तमान सरकारको विषयमा मिनि जनमत संग्रह जस्तै हुनेछ ।

प्रधानमन्त्री स्वयम्ले विपक्षी दलका नेता शेरवहादुर देउवा र विद्यार्थी नेताहरुलाई वालुवाटारमा वोलाएर छलफल चलाई स्ववियु चुनाव सफल पार्न सबैलाई उहाँले अपिल गर्नु भएको छ । यसले पनि स्ववियु चुनावको महत्व स्पष्ट गर्दछ ।

फागुण १४ मा चुनाव घोषणा भएपनि चुनाव होला नहोला भन्ने ग्यारेन्टि अझै छैन । नेपाली कांग्रेस अहिले सरकार विरुद्ध सडक र संसदमा संघर्ष चर्काउने मुढमा छ । सरकारले पनि यस्ता संघर्ष र मुठभेडहरु नहोस् भनेर सतर्कता अपनाउने भन्दा पनि वहुमतको वल देखाउने तथा पहिला कांग्रेसको वहुमत भएको वेला गरिएका संसदिय वल मिच्याँइको वदला त्यसरी नै लिने मुढमा देखिएको छ । यस्तो वेला स्ववियु चुनाव गर्न सहज हुनेछैन ।

यदि स्ववियु चुनाव भैहाल्यो भने पनि यो केवल मिनि जनमत संग्रह जस्तो मात्र नभएर मिनि युद्ध मैदान वन्न जाने सम्भावना पनि उत्तिकै छ ।

पंचायत कालमा स्ववियु चुनाव र स्ववियु आन्दोलन राजतन्त्र र पंचायति व्यवस्थाको विरुद्ध लक्षित थियो । स्ववियु भनेको जनताको न्यायिक आन्दोलनको एक अभिन्न हिस्सा थियो । तर संसदिय व्यवस्थाको शुरुवात पछि स्ववियु पनि संसदीय विकृतिहरुको अभिन्न हिस्सा वन्न पुग्यो । स्ववियु चुनाव भनेको सत्ताको हानथाप जस्तो वन्न थाल्यो । विद्यार्थी समुदायका समस्याहरु हल गर्ने र जनसरोकारका विषय उठाउने थलो भन्दा पनि स्ववियु ठेक्कापट्टामा भाग खोज्ने विकृतिले भरिन थाल्यो ।

जनयुद्धकालमा माओवादी विद्यार्थी आन्दोलनले जनयुद्धको सहयोगी वन्दै विद्यालय र कलेजका विकृतिहरु विरुद्धको आन्दोलनको स्वरुप लिएको थियो । तर अहिले सत्तापक्ष र विपक्षको संसदिय खेलको अंगको रुपमा स्ववियु प्रयोग हुन थालेकोले नयाँ विद्यार्थी पक्षीय तथा जनपक्षीय विद्यार्थी आन्दोलन आवश्यक देखिएको छ । विद्यार्थी समुदाय र जनताका समस्या एकातिर राखेर सत्ता वरपर विद्यार्थी संगठन दौदिन थालेको स्थितिमा वैकल्पिक जनपक्षीय विद्यार्थी आन्दोलनको अहिलेको समयको माग भएकोछ ।

यस्तो स्वतन्त्र जनपक्षीय तथा विद्यार्थी पक्षीय धारको निर्माण विना विद्यार्थी चुनाव केवल सत्ता पक्ष र विपक्षको संसदिय खेलको अंग मात्रै रहि रहने छ । आगामी स्ववियु चुनाव मिनि जनमत संग्रह वा मिनि युद्धस्थल जे वनेपनि त्यसले विद्यार्थी समुदाय र आम जनताको लागि खासै उपलब्धीमुलक हुनसक्नेछैन ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्