
काठमाडौं । आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माले दायर गरको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका शर्माले दायर गरेको रिटमाथि सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासमा सुनुवाइ हुन लागेको हो ।
यसअघि गत फागुन १९ मा सर्वोच्चले शर्माको मुद्दामा नेपालगन्जस्थित माछापुच्छ्रे बुक्स एन्ड स्टेसनरी सेन्टर र पर्वत पुस्तक पसल सप्लायर्सबाट प्रमाण मगाउन आदेश दिएको थियो ।
शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साउन १ गते १० अर्ब राजस्व चुहावट गरी राज्यलाई हानी पु¥याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेषले भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गर्दै ९ वर्ष कैदसहित बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड १७ लाख रुपैयाँ तिराउन आदेश गरेको थियो । उक्त फैसलाविरुद्ध गत साउनमा उनी बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च गएका हुन् ।











