
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन भएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।
वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहेका छन् ।
लामो समयदेखि विवादमा अल्झिएको एनआरएनएको एकता महाधिवेशन आउँदो मे ३–५, २०२५ मा काठमाडौँमा हुँदैछ । सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी एकता महाधिवेशन गर्न लागिएको उच्चस्तरीय समितिका अध्यक्ष डा शेष घलेले बताए ।
उच्चस्तरीय समितिले मार्च ३१ भित्र एनआरएनए एचएलसीको सदस्यता दर्तामा गई नयाँ सदस्यताको लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ । समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूले काठमाडौँमा उपस्थित भएर तोकिएको शुल्क तिरी डेलिगेट्स बन्न पाउने व्यवस्था गरिएको पनि जनाएको छ ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले यही फागुन ११ गते गैरआवासयीय नेपाली संघको सचिवालय पूर्वअध्यक्ष शेष घले नेतृत्वको समितिलाई हस्तान्तरण गर्न निर्देशन दिएको थियो । हस्तान्तरण नगरिए फैसला कार्यान्वयनमा सहयोग नगरेको भनी इजलासमा प्रतिवेदन दिने चेतावनीसमेत निर्देशनालयले दिएको थियो ।











