Logo
Logo

‘अख्तियारलाई मिलाउन’ भन्दै घुस मागेपछि…


3.2k
Shares

काठमाडौं । पोखरा महानगरको फर्छ्यौट शाखामा कार्यरत कर्मचारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई घुससहित पक्राउ गरेको हो ।

महानगरका विषयमा अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै एक कर्मचारीसँग एक लाख रुपैयाँ घुस मागेका थिए ।

अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै मागेको सूचना पाएपछि घुससहित पक्राउ गरिएको हो ।

‘अख्तियारमा परेका उजुरीका विषयमा जबाफ पठाउने ठाउँमा रहेका कपिल गिरीले एक व्यक्तिलाई उनका विरूद्ध अख्तियारमा धेरै उजुरी परेको र अख्तियारलाई मिलाउन घुस मागेको सूचना आयो,’ उनले भने, ‘सूचनाका आधारमा गिरीलाई २५ हजार घुससहित पक्राउ गरेका हौं।’

स्याङ्जाको पुतलीबजार नगरपालिकामा काम गरेका गिरी बढुवा भएर पोखरा महानगर आइपुगेका थिए।

घुसका विषयमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको अख्तियारका सूचना अधिकारी पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्