
काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश अधिवेशन अन्त्यप्रति आपत्ति जनाएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले गएराति १२ बजेदेखि अधिवेशन अन्त्य गरेपछि कोशी माओवादी संसदीय दलले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।
सरकारको अक्षमताको विषयमा सार्वजनिक आलोचना हुने भएपछि एक्कासि अधिवेशन अन्त्य गरेको माओवादी केन्द्रको आरोप छ । माओवादी केन्द्र प्रमुख सचेतक गीता तिम्सिनाले विज्ञप्ति जारी गर्दै दोस्रो प्रदेशसभा गठन भएको दुई वर्ष पूरा भइसक्दासमेत प्रदेशसभा सञ्चालन नियमावली पारित गर्ने प्रयास नहुनु आश्चर्यजनक भएको उल्लेख गरेकी छन् ।
‘सांसदहरूले गैरसरकारी विधेयकको रूपमा प्रदेशको कामकाजी भाषा सम्बन्धी विधेयक दर्ता गरे पनि त्यसलाई बैठकमै पेश नगरी अधिवेशन अन्त्य गर्नु सरकारको कानुन निर्माणप्रति असंवेदनशीलता दर्शाउँछ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारको कामकारबाहीप्रति जनस्तरमा असन्तुष्टि बढिरहेका बेला प्रदेशसभा सदस्यहरूले उठाएका गम्भीर प्रश्नहरूलाई वेवास्ता गर्दै अधिवेशन अन्त्य गर्नु अत्यन्त आपत्तिजनक छ,’ उनको विज्ञप्तिमा उल्लेख छ ।















