
तीनकुने घटनाले नयाँ बहस छेडेको मात्रै छैन, प्रश्नहरूको पहाडसमेत खडा गरेको छ । कतै इतिहासको घडी उल्टो घुम्न सुरु भएको त होइन ? कतै विश्वको सबैभन्दा राम्रो भनेर दाबी गरिएको व्यवस्था ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नै धरमराएको त होइन ? प्रश्न पेचिला बनेका छन् ।
चैत १५ को घटना केवल एउटा प्रदर्शनमा सीमित छैन । यसमा गणतन्त्रवादी र राजावादीबिचको द्वन्द्व, व्यवस्थाप्रतिको बढ्दो आक्रोश, दिशाहीन राजनीतिमाथिको प्रश्न, शासकको लाचारीपन र अहंकार प्रतिबिम्बित भएका छन् ।
सम्झँदा पनि तीनकुने घटना एउटा नाटकजस्तै लाग्छ । जसका पात्रहरू पहिले नै तय थिए । तर, दर्शक भने अनाहकमा घिसारिए । प्रदर्शनकारी र सुरक्षा निकाय दुवैमा न संवेदना थियो, न त स्पष्ट उद्देश्य नै । जे–जे मन लाग्यो, गरे । जे–जे सके, गरे । दुनियाँलाई रमिता देखाए ! देखिएन परिवर्तनको इन्द्रेणी । देखियो त केवल निराशाको कालो बादल ।
चैत १५ गते दिउँसै संघीय राजधानी अराजकताले थिलथिलो बन्यो । आन्दोलनको नाममा लुटतन्त्र मच्चाए । राजावादीहरूले जुन उपन्द्रो मच्चाए, त्यो इतिहासका अनगिन्ती आन्दोलनहरूमध्ये सबैभन्दा अराजक र हिंसात्मक रह्यो । उनीहरूको अनुहार र नियत उदांगियो । तोडफोड, आजगनी र लुटतन्त्रको दृश्यले राजावादीको आन्दोलनको उद्देश्यप्रति प्रश्न चिह्न खडा भएको छ ।
राजावादी र गणतन्त्रवादीको कोपभाजनमा जनता परेका छन् । निमुखा जनतामाथि गोली ठोकियो । कोही तर्किँदातर्किँदै ढले । रगतले भिज्यो तीनकुने चोक ! पत्रकारलाई जिउँदै जलाइयो ! सधैँ समाचार बनाउने सुरेश रजत आफैँ समाचार बने ।
समय आएको छ, राज्यले आँखा चिम्लेर सहनुहुन्न । अपराधी जो कोही होस्, चाहे ऊ राजतन्त्रका झन्डा बोक्ने पूर्वराजा ज्ञानेन्द्रकै वरिपरि किन नहोस्, कानुनी कठघरामा उभ्याउन ढिलाइ गर्नु हुँदैन । नागरिकको जिउधनमा प्रहार गर्ने अपराधीलाई कारबाही गर्नु राज्यको दायित्व हो ।
यसो भनिरहँदा अर्को कुरा पनि कदापि भुल्नु हुँदैन । १७ वर्षे कुशासनको बोझले थिचिएको लोकतान्त्रिक गणतन्त्र बिरामी भएको छ । नेताको मलिलो उद्योग जोगाउन आमनागरिकले मृत्युवरण गर्नु परेको छ । औचित्य सकिएका नेता र सरकारको अलोकतान्त्रिक गतिविधिले लोकतान्त्रिक गणतन्त्र उजाड बनेको छ । असमानता, भ्रष्टाचार, विकृति र अन्यायले सीमा नाघेको छ । तीनकुने घटना हाम्रो लागि एउटा ऐना बनेको छ । हामी कुन हदसम्म टुक्रिएका छौँ, कति विचलित र दिशाविहीन छौँ भन्ने प्रस्ट भएको छ ।
परिवर्तन नामको बीउ पटक–पटक रोपियो, काटियो, जलाइयो । तर, तिनै बिउले लहराएको अनाहकको बालीमा सीमित व्यक्ति रमाइरहेका छन् । नागरिकको पसिना भन्दा बढी नेताको स्वार्थ मिसिएको छ । नेताहरू आफ्नो कुर्सी पाल्दैछन्, मलिलो मलजस्तै जनताको मृत्युलाई छरेर ।
देशमा गणतन्त्र आयो । तर, नागरिकले महसुस गर्न पाएका छैनन् । व्यवस्था परिवर्तन भयो, तर लागू हुन सकेको छैन । परिवर्तनको रंग धमिलो भएको छ । राजनीति कुनै कुहिएको फूलजस्तो । सुगन्ध छैन, गन्ध चारैतिर फैलिएको छ । जब जनताले प्रणालीप्रति विश्वास गुमाउँछन् । विकल्पको खोजी सुरु हुन्छ, चाहे त्यो अतीत नै किन नहोस् । तर, हिंसाबाट जन्मिएको विकल्प सधैँ नकारात्मक हुन्छ ।
तीनकुनेमा रगतको आहाल, धुवाँको मुस्लो र क्रोधको आगो मात्रै थिएन । त्यसभित्र एउटा शून्यता पनि थियो, चेतनाको । त्यसैले यस घटनाबाट चेतनाको नयाँ अध्यायको सुरुवात पनि भएको छ । तर, त्यसलाई यथार्थले हेर्न सक्नुपर्छ । जनतामा बढ्दो असन्तुष्टिको लाभ उठाउँदै अराजकता फैलाउनेहरूले पनि आत्मसमीक्षा गर्नुपर्छ ।
अब ढिला गर्नु हुँदैन, समाजले आफ्ना घाउहरू केलाउन । राजनीतिले आत्मसमीक्षा गर्न । र, नागरिकले आफ्ना मूल्यहरू परिभाषित गर्न । सत्ताको सिकार भएको सिंहदरबारले न्यायको ढोका खोल्नुपर्छ । युवाको आक्रोशप्रति शासक बोल्नुपर्छ । हामीलाई बहस चाहिएको हो, बन्दुक होइन । शान्ति, स्थायित्व र समृद्धिलाई नारामा मात्रै सीमित राख्नु हुँदैन । सहअस्तित्वको आधार बनाउनुपर्छ ।
जब सरकार आफ्नै छायासँग डराउँछ, तब जनतालाई शत्रु ठान्छ । तर, दमन विजय होइन । त्यो त भयको अन्तिम हाँसो हो । अब, कागजको सिंह बनेर गर्जिरहेको शासनले आगो निभाउने निहुँमा पेट्रोल छर्कन बन्द गर्नुपर्छ । तर, सत्तामा बसेर राज्यको अस्तित्वलाई जोखिममा पार्नेहरूले बुझ्न चाहेका छैनन् या बुझ पचाइरहेका छन् । यी दुवै देश र नागरिकको लागि दुर्भाग्य हुन् ।
अहिले शहीदको रगतलाई धोएर पखाल्न खोजिँदै छ । शब्दको कुकरमा ‘राष्ट्रवाद’को सिट्ठी लगाउने प्रतिस्पर्धा चलिरहेको छ । आज सिंहदरबार जनताको होइन, सत्ताको सिकार बनेको छ । न्यायापालिका राजनीतिक औजारको रूपमा प्रयोग भइरहेको छ । कानुनी शासनको आधार झन्झन् पातलिँदै गएको छ ।
शासकले लोकतान्त्रिक मूल्य, शहीदको रगत र संविधानको मर्मलाई बिर्सिएका छन् । सरकार दमन र डरको प्रयोगमा रमाइरहेको छ । अत्याचार र दमनको बाटो कहिल्यै शान्तिको गन्तव्यमा पुग्दैन । जनताको याचना स्पष्ट छः अब नेतृत्वले विवेक र संवेदना देखाओस्, नत्र मुलुक अनन्त अँध्यारोतर्फ लम्किनेछ । यसले न लोकतन्त्र जोगिन्छ, न मुलुक ।
सिंहदरबारले जनताको पिर बुझ्दैन । उल्टै युवामा आक्रोश बोकेर उनीहरूलाई समाजको भूत बनाउनेतर्फ अग्रसर छ । राज्यले आफ्नै जनतालाई पराई बनाएको छ । आफ्नै आँगनमा आगो सल्काएको छ । राजनीतिक मञ्चमा उत्तरदायित्व हराएको छ । त्याग, संवेदना र सुशासनका पाइलाहरू ओझेल परेका छन् ।
राज्यले दिएको चोट अब जनताले सहन सक्ने सीमा पार गरिसकेको छ । निषेधको राजनीतिले जनताको मनोभावमा विद्रोहको बीउ रोपिरहेको छ । नेतृत्वले अझै पनि समयको संकेत बुझेन भने जनताले विवेक गुमाउने छन् । र, त्यो घडीमा नेपाल केवल नक्सामा बाँकी रहनेछ, नेपालीहरू आफ्नै मुलुक खोज्दै भौँतारिने छन् ।
तीनकुनेको आगो निभेको छैन । बेलैमा निभाउन सकेनौँ भने, भुसको आगोझैँ सल्किने छ । र, संघीय लोकतान्त्रिक गणतन्त्र नै खरानी बन्ने छ । अब प्रश्न केवल यत्ति हो– के हामी त्यो आगोबाट उज्यालो बनाउछौँ कि खरानी ?