काठमाडौं । अमेरिकाबाट प्राप्त खाद्य सहायता कटौती भएपछि अफगानिस्तानमा लाखौँ मानिस गम्भीर भोकमरीको जोखिममा परेका छन् । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार हाल उनीहरूसँग सीमित स्रोत मात्रै बाँकी छ, जसले सबैलाई आवश्यक राहत दिन असम्भव बनाएको छ ।

(WFP) का ताजा आँकडाअनुसार अफगानिस्तानमा करिब ४५ लाख मानिसलाई खाद्य सहायता आवश्यक छ । तीमध्ये ३१ लाख मानिस तत्काल अकालको चपेटामा पर्ने जोखिममा छन् । वर्तमान स्रोतको आधारमा वर्षभरिमा जम्मा आठ लाख मानिसलाई मात्र त्यो पनि आधा परिमाणमा राहत दिन सकिने अवस्था छ ।
ध्ँए अफगानिस्तानका निर्देशक मुइन्टा चिमुकाले चिन्ता व्यक्त गर्दै भनिन्, ‘हामीसँग धेरै थोरै स्रोत बाँकी छ । यदि तत्काल थप सहयोग प्राप्त भएन भने, हामी केही समुदायलाई भन्न बाध्य हुनेछौँ—हामी तपाईँहरूलाई सहयोग गर्न सक्दैनौँ । त्यसपछि उनीहरू कसरी बाँच्ने ?’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि सबै विदेशी सहायता तीन महिनाका लागि रोक्ने निर्णय गरेका थिए । यद्यपि आपतकालीन सहायता छुट हुने भनिएको थियो, अफगानिस्तानसहित १४ देशमा सहायता कटौती गरिएको थियो। केही देशमा पुनः सहायता बहाल भए पनि अफगानिस्तानको सहायता भने अझै कटौतीकै अवस्थामा छ ।
संयुक्त राष्ट्रका अनुसार अफगानिस्तानमा बढ्दो बेरोजगारी, गरिबी, र अन्य देशबाट फर्केका शरणार्थीहरूले समस्या झनै जटिल बनाएका छन् । खाद्यान्नको कमी, कृषि क्षेत्रमा उत्पन्न समस्या र पोषणको अभावले लाखौँ जनताको जीवन जोखिममा पारेको छ ।
संयुक्त राष्ट्रसंघले सबै अन्तर्राष्ट्रिय दाताहरूसँग अपिल गर्दै भनेको छ, ‘यदि तुरुन्तै पर्याप्त सहयोग जुटाउन सकिएन भने, अफगान जनतालाई भोक र पीडाबाट जोगाउन कठिन हुनेछ । दीर्घकालीन समाधानका लागि अहिले नै निर्णायक कदम चाल्नु अत्यावश्यक छ ।’










