काठमाडौं । चीनले अमेरिकासँगको चर्किँदो व्यापार युद्धको बिचमा सात प्रकारका दुर्लभ र महत्त्वपूर्ण धातुहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ । गाडी, ड्रोन, रोबोट, मिसाइललगायत आधुनिक उपकरण निर्माणमा प्रयोग हुने समेरियम, ग्याडोलिनियम, टरबियम, डिस्प्रोसियम, लुटेसियम, स्क्यान्डियम र यिट्रियम धातुमा यही अप्रिल ४ देखि निर्यात रोक लगाइएको हो ।

यी धातुहरू अटोमोबाइल, सेमिकन्डक्टर र एयरोस्पेस उद्योगका लागि अत्यावश्यक मानिन्छन्। यस कदमले विश्वभरका मोटर, विमान, चिप तथा हतियार उद्योगलाई प्रभावित पार्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस निर्णयलाई गम्भीर रूपमा लिँदै सम्पूर्ण इलेक्ट्रोनिक आपूर्ति श्रृंखलाको समीक्षा गर्ने बताएका छन् । अमेरिकाले केही समयका लागि स्मार्टफोन, ल्यापटप, सेमिकन्डक्टरजस्ता उत्पादनमा भन्सार छुटको घोषणा गरेको छ । तर ट्रम्प प्रशासनले यो अस्थायी मात्र हुने र नयाँ भन्सार शुल्कको तयारी भइरहेको स्पष्ट पारेको छ ।
ट्रम्प सत्तामा फर्किएपछि स्ट्यान्डर्ड एण्ड पुअर्स ५०० इन्डेक्स १० प्रतिशतभन्दा बढी घटिसकेको छ । चीनले पनि अमेरिकी आयातमा भन्सार शुल्क १२५ प्रतिशतसम्म बढाएको छ ।