काठमाडौं । ह्वाइट हाउसमा पुनः प्रवेश गरेपछि खर्च कटौतीका नाममा विभिन्न प्रतिबन्ध र सहायता रोक्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब हार्वर्ड विश्वविद्यालयलाई पनि निशाना बनाएका छन् ।

बीबीसीका अनुसार, नीति सुधारका लागि पठाइएको मागहरूको सूची अस्वीकार गरेपछि ह्वाइट हाउसले हार्वर्डको झन्डै दुई अर्ब डलर बराबरको कोष रोक्का गरेको हो ।
गत साता ट्रम्प प्रशासनले हार्वर्डलाई शासन प्रणाली, भर्ना अभ्यास, र विद्यार्थी छनोट प्रक्रियामा व्यापक परिवर्तनको माग गर्दै एक सूचि पठाएको थियो । तर विश्वविद्यालयले ती माग अस्वीकार गरेपछि सोमबार उक्त कोष रोक्ने निर्णय गरिएको हो ।
राष्ट्रपति ट्रम्पले विशेषतः इजरायल–पलिस्टाइन द्वन्द्वको सन्दर्भमा यहुदी विद्यार्थीहरूलाई सुरक्षा दिन विश्वविद्यालयहरू असफल भएको आरोप लगाएका थिए । यही विषयलाई लिएर उनले हार्वर्डको शैक्षिक र प्रशासनिक संरचनामा सुधारको माग गरेका थिए ।
हार्वर्ड विश्वविद्यालयका एक अधिकारीले भने, ‘हामीले कानुनी सल्लाहकारमार्फत प्रशासनलाई जानकारी गराएका छौँ कि उनीहरूको प्रस्ताव स्वीकार्य छैन । विश्वविद्यालयले आफ्नो स्वतन्त्रता वा संवैधानिक अधिकार त्याग्ने छैन ।’ बीबीसीका अनुसार ट्रम्प प्रशासनको नीतिगत दबाबलाई खुलेरै अस्वीकार गर्ने हार्वर्ड पहिलो प्रमुख अमेरिकी विश्वविद्यालय बनेको छ ।