Logo
Logo

समय फेरियो, सोच फेरिएन


3k
Shares


हिजोदेखि नयाँ वर्ष २०८२ सुरु भएको छ । नयाँ वर्षमा शुभकामना आदान प्रदान गर्ने नेपालीहरूको परम्परा छ । हरेक वर्ष शुभकामनामा एकले अर्कोलाई सुख, समृद्धि र दीघार्युको कामना गर्ने चलन छ ।

एक आपसमा यस्तो कामना गर्दै आएको पनि जुगौं बितिसक्यो, तर नेपाली जनताको जीवनमा आजसम्म न सुख आयो, न समृद्धि नै । उल्टै नेपाल वैदेशिक रोजगारीको कारखाना बन्यो । हातमुख जोड्न लाखौँलाख युवा विदेशिन बाध्य भए ।

तीन दशकमा सुख, समृद्धि प्राप्त गर्न ती युवाहरूले दुईवटा व्यवस्था परिवर्तन गरे, आन्दोलनमा भाग लिए । फलस्वरूप गणतन्त्रसम्म राजनीतिक यात्रा सम्पन्न पनि भयो । अब त देशभित्रै सुखको सास फेर्न पाइएला भन्ने आशा पलाएको थियो । तर, देशको अवस्था परिवर्तन भएन । लाखौँ नेपाली विदेशिन बाध्य भए, यो क्रम नरोकिने हो भने सिङ्गो देश वृद्धाश्रम बन्ने छ ।

२०४६ सालदेखि २०८२ सालसम्म आइपुग्दा यो ३५ वर्षमा नेपाली जनताको जीवनमा धेरै ठूलो परिवर्तन भइसक्नुपर्ने थियो । विकासको हिसाबले ३५ वर्ष भनेको धेरै लामो समय हो । राजनीतिक परिवर्तनपछि आर्थिक विकासले गति लिएको भए आज हामीले हाम्रै पालोमा समृद्धि हासिल गरिसकेका हुने थियौँ ।

तीन दशकमा देङको खुला बजार अर्थनीतिले चीन समृद्ध बन्यो, यसै अवधिमा लिक्वानोले सिंगापुरलाई समृद्धिको शिखरमा पु¥यायो । यो तीस वर्षभित्रै महाथिरले मलेसियालाई आधुनिक मलेसियामा रुपान्तरण ग¥यो । अन्य धेरै नेपाल भन्दा पनि पिछडिएको मुलुकहरू छन्, जसलाई आर्थिक समृद्धि हासिल गर्न ३० वर्ष पनि लागेन ।

तर नेपालले ३५ वर्षमा किन आर्थिक समृद्धि हासिल गर्न सकेन भन्नेतिर गहन समीक्षा हुनु जरुरी छ । सामाजिक सञ्जालमा राजा महेन्द्रले १० वर्षमा गरेका काम हामीले ३५ वर्षमा किन गर्न सकेनौँ भन्ने प्रश्न उठ्न थालेको छ ।

यस्तो प्रश्न उठाउनेहरूलाई शासकहरूले लामो तथ्याङ्क प्रस्तुत गरेर नेपाल ३० वर्ष अगाडि जहाँ थियो, आज त्यो भन्दा धेरै माथि अर्थात् आर्थिक विकासले आकाशै चुमेको तथ्याङ्क प्रस्तुत गर्ने गरेका छन् । विकासको गति अगाडि बढ्छ, पछाडि धकेलिँदैन । तर प्रश्न के हो भने नेपाली जनताले अनुभूति गर्ने गरी आर्थिक समृद्धि किन हासिल हुन सकेन भन्ने नै मूल प्रश्न हो ।

यसको दोष व्यवस्था होइन, नेताहरू हुन् । ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिड’ जस्तै बनेको छ हाम्रा नेतालाई लोकतन्त्र । राजनीतिक दलका नेता, कार्यकर्तालाई समृद्धि आए पनि आम नागरिकको जीवनमा समृद्धि अझै आउन सकेको छैन । एकथरिले अवस्था बदल्न, व्यवस्था बदलौँ भनिरहेका छन् ।

अर्काथरि, आर्यघाट नपुगेसम्म सत्तामा बसेर लुट्नै तल्लीन छन् । पात्रो परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन नभएका कारण ३५ वर्षदेखि उही अनुहार आलोपालो सत्तामा छन् । जसले यो देशलाई बरबादीमा पु¥याए । उनीहरूलाई देश बिग्रिएकोमा कुनै चिन्ता छैन । अझै राज्यसत्तामा बसेर लुट्न पाए हुन्थ्यो भन्ने छ । दिनदिनै अप्रिय निर्णयहरू गरेर देश बरबादीतिर धकेलिरहेका छन् ।

आज देश रेमिट्यान्सको भरमा चलेको छ । आयातमुखी प्रवृत्ति मौलाएको छ । आफैँले आफ्नो खेतबारीमा उब्जाउ गर्न सकिने आलु, प्याज, गोलभेँडा पनि भारतबाटै आयात गर्नुपरेको छ । निर्यातजन्य उद्योग स्थापना हुनै सकेको छैन । भएका उद्योगधन्दा पनि समस्याग्रस्त छन् ।

हरेक वर्ष लगानी सम्मेलन गर्छौं, तर प्रतिफल शून्यजस्तै छ । देशको आर्थिक अवस्था अझै ओरालो लाग्ने क्रममा जारी छ । व्यापार घाटा घटाउने धेरै उपायहरू छन् । तर ती उपायहरू उपयोगविहीन बनेको छ । देश बनाउने भन्दा पनि बिगार्ने होडबाजीमा दलहरू लागेका छन् ।

यी सबै समस्याका मूल जड सत्तासीन राजनीतिक दल र तिनका नेताहरू हुन् । जसले जे गरे पनि हुने, जसले जति नीतिगत भ्रष्टाचार गरे पनि हुने विकृति लोकतन्त्रको आवरणमा मौलाएको छ । कानुनले निर्धारण गरेको सम्पत्ति विवरणसमेत प्रधानमन्त्री, मन्त्रीहरूले लाजै नमानी लुकाइरहेका छन् ।

कति सहनु यिनका लुटतन्त्र, त्यसै राजावादीहरू यो लुटतन्त्रबाट उन्मुक्तिका लागि व्यवस्था परिवर्तनको पक्षमा उभिएका होइनन्, वास्तवमै आम नागरिक यो कुशासनबाट मुक्ति चाहन्छन् । वास्तवमा, कुनै पनि व्यवस्था आफैँमा खराब होइन, त्यसमध्ये लोकतन्त्र आजको विश्वमा सबैभन्दा उत्तम व्यवस्था हो । त्यो व्यवस्थालाई बदनाम गर्ने भ्रष्ट शासकहरू हुन्, जो ३५ वर्षदेखि सत्तालाई आलोपालो लुट्ने साधन बनाइरहेका छन् ।

यिनीहरूबाट मुक्ति पाउन हरेक पार्टीमा नेतृत्व परिवर्तन आवश्यक छ । पुराना नेताहरूले पनि नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नु आवश्यक छ । मिसन ८४ अगाडि नै हरेक दलले नेतृत्व परिवर्तन गर्न सके मात्र नयाँ पात्रबाट केही आशा गर्न सकिएला, अन्यथा, नेताहरूको प्रवृत्ति फेरिएला जस्तो छैन । पात्रो फेरिँदैमा नेपाली जनताले सुख, समृद्धि हासिल गर्न सक्दैनन् । नयाँ वर्ष २०८२ को सबै नेपाली जनतामा सुख, शान्ति र समृद्धिको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्