
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीबीच भेटवार्ता भएको छ । इटालीका प्रधानमन्त्री मेलोनीले आफ्नो अमेरिका भ्रमणको क्रममा ह्वाइट हाउस पुगेर ट्रम्पसँग भेटवार्ता गरेकी हुन् ।
भेटका क्रममा जर्जिया मेलोनी र ट्रम्पले अमेरिका र युरोप बीचको सम्भावित व्यापार सम्झौताको बारेमा कुराकानी गरेको बीबीसीले जनाएको छ । ट्रम्पले भने व्यापार सम्झौता निश्चित र निष्पक्ष हुने बताएका छन् । सम्झौतामा पुग्ने कुरामा मेलोनीले पनि आफू विश्वस्त रहेको प्रतिक्रिया दिएकी छन् ।
यही अप्रिलको शुरूमा ट्रम्पले धेरै देशहरूमा पारस्परिक शुल्क लगाएकामा चीनबाहेक सबै देशहरूलाई ९० दिनको अस्थायी छुट दिँदै पारस्परिक भन्सारलाई समान रूपमा १० प्रतिशतमा घटाएका छन ।
ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सामानहरूमा २० प्रतिशत कर लगाएपछि र त्यसपछि ९० दिनको लागि निलम्बन गरेपछि मेलोनी अमेरिका भ्रमण गर्ने पहिलो युरोपेली हुन् ।