काठमाडौै । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारको नाममा ठगिएका नेपाली युवाको पैसा फिर्ता कहिले हुन्छ भनेर सरकारसँग स्पष्ट जवाफ मागेका छन् । आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै उनले म्यानपावर कम्पनीहरूले कानुन विपरीत लाखौँ रुपैयाँ असुली गरिरहेको भन्दै सरकारको मौनताप्रति कडा आलोचना गरे ।

‘सेवा शुल्क १० हजारभन्दा बढी लिन नपाइने कानुनी व्यवस्था छ, तर म्यानपावरहरूले लाखौँ असुल्दै छन् । के दुई तिहाइ बहुमतको शक्तिशाली सरकारलाई यो थाहा छैन ?’ अध्यक्ष साहको प्रश्न थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार नै दलाल र भगौडा वर्गको नेतृत्व गरिरहेको आरोप लगाउँदै उनले भने, ‘स्वदेशमा रोजगारको अवसर नभएर ऋण काढेर विदेश जान बाध्य युवालाई ठगेर लुट्ने काम सरकारकै मिलेमतोमा भइरहेको छ ।’
सरकार जनताको समस्या समाधान गर्न असफल भएको उल्लेख गर्दै उनले श्रमजीवी वर्गको पक्षमा सरकार न सोच्ने, न बोल्ने, न काम गर्ने अवस्थामा रहेको टिप्पणी गरे ।














