Logo
Logo

भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन


441
Shares

काठमाडौं ।  भृकुटीमण्डपको उद्यानमा भइरहेको ‘खाना महोत्सवमा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त हुनुहुन्छ । छेवैमा पाक्दै छ तात्तातो सेल अनि लहरै राखिएका छन् थप परिकार । सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीहरूको ध्यान गइरहेको देखिन्छ । खाना पारखीहरू स्वाद मानी मानी खाइरहेको देखिन्छन् ।

नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ बाट चिनिनुभएकी सुब्बाले आफूले शोमा बनाएको खीर सबैले रुचाकोले महोत्सवमा यसको स्वाद चखाउन आएको बताउँछन् । रियालिटी शोमा आफ्नो समुदायको खानालाई पस्केर सबैको मन जितेकी उनले नेपाल रैथाने परिकारको धनी भएकाले यसलाई प्रवर्द्धन र संरक्षण गर्न सबैले लाग्नुपर्ने बताउँछन् । 

सुब्बा भन्छन् , ‘हिमाल, पहाड र तराई सबै ठाउँको आआफ्नो खानाको विशेषता छ । हामीले सबै परिकारलाई थोरै मात्र परिष्कृत गरेर पस्किन सक्यौँ भने यसले अन्तर्राष्ट्रिय बजारमा फैलिने मौका पाउन सक्छ ।’ उनको छेवैको स्टलमा नेवारी परिकारहरू बारा, योमरी, छोयला राखिएका छन् । खोकनाको तोरीको तेल, बेसार आदि पनि स्टलमा बेच्न राखिएको छ । भिलेज क्याफेकी पुनमाया डङ्गोलले नेवारी परिकारहरूलाई प्रवर्द्धन र यसको स्वाद सबैमाझ पु¥याउन महोत्सवमा सहभागी भएको बताउँछन् । 

उनले भने, ‘क्याफेमा त थुप्रै परिकारहरू पाइन्छन् । आज भने हामीले यति मात्र ल्याएका छौँ । नेवारी परिकारहरू धेरैको जिब्रोमा झुन्डिएको छ । धेरैले रुचाइ दिनुभएको छ ।’ विगत डेढ वर्षदेखि टोखामा ‘आरोग्य कर्णाली अर्गानिक प्रालि’ सञ्चालन गर्दे आएकी सीता आचार्य मौरी संरक्षणकर्मी छन् । उनीसँग १५० वटा मौरीका घार छन् । उनले मौरीपालनका साथै कर्णालीमा पाइने विभिन्न रैथाने अन्नबालीहरूको ब्रान्डिङ गरेर बेच्दै आएका छन् । 

उनको स्टलमा मह, कागुनो, चिनो, मार्सी, फापरको पिठो, कोदो, मकैको च्याख्ला, सातु, गुन्दु्रकलगायत २० प्रकारका सामग्रीहरू छन् । आचार्यका अनुसार चिनो, कागुनो, कोदो र फापरको माग बढी रहेको छ । ‘यी अन्नहरु मधेमेह, उच्च रक्तचापका बिरामीलाई खान मिल्छ । कतिलाई थाहा छैन । थाहा हुनेले खोजेर खानहुन्छ’, उनले भने । 

परम्परागत र मौलिक खानाको सङ्गम रहेको खाना महोत्सवमा मोही पनि बिक्रीका लागि राखिएको छ । ओखलढुंगे डेरी एण्ड एग्रीफुड प्रालिले दुग्धजन्य पदार्थहरुलगायत मिठाइ, आइसक्रिम, भुजिया, निम्किी, पनिर तथा चिज मःम बेच्दै आएको छ । डेरीका सञ्चालक गोपाल तिमिल्सनाले बजारमा पाइने विभिन्न पेयपदार्थभन्दा कैयौँ गुणा मोही स्वस्थ्यकर भएकाले यसको ब्राण्डिङमा लागेको सुनाए ।

उनले भने, “स्थानीय उत्पादन मोहीलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्याकिङ गरेर बेच्दा स्वास्थ्यलाई राम्रो हुने र आफ्नो स्थानीय उत्पादनको खपत हुने उद्देश्यले हामीले सुरु गरेका हौँ । गुलियो चिसो पेयपदार्थभन्दा गर्मीमा मोहीले शीतल गराउँछ ।” अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्टले यो महोत्सव परिकारहरूको प्रदर्शनी मात्र नभई नेपाली सेफहरूको पहिचान, प्रतिभा, मिहिनेत र सिर्जनशीलताको सजिव दस्ताबेज रहेको बताए । 

भट्टले नेपाली पाककलामा स्वाद, विविधता, मौलिकता अद्वितीय भए पनि अन्तरराष्ट्रियस्तरमा स्थापित गर्नु चुनौतीपूर्ण भएको बताउनुहुन्छ । उनले भने, “विश्वसामू चिनाउने हाम्रो सपना हो । यसका लागि सबैको समर्पण र सहकार्य आवश्यकता छ ।” खाना महोत्सवले परम्परागत, रैथाने स्वादसँग आधुनिक परिकारको प्रदर्शनी र नेपालभित्रको पाककलाको सम्भावनाको उज्यालो चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ । महोत्सवमा ५० वटा स्टल, ९४० वटा खानाका ५ वटा रैथाने बाली नालीको प्रदर्शन, पाँच वटा पर्यटन जानकारी० रहेको छ । खानाका स्टलमा विभिन्न जात जातिको खाना ९नेवारी, थारु, राई लिम्बु, थकाली, आदि०को परिकारहरू राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्