काठमाडौं । संविधान संशोधन, राजनीतिक स्थिरता, विकास र सुशासनको वाचासहित बनेको कांग्रेस–एमाले गठबन्धन सरकारले नौ महिना पूरा गरेको छ । तर, संविधान संशोधनको मुख्य एजेन्डामा कुनै प्रगति भएको छैन । विकास र सुशासनका सवालमा पनि असन्तुष्टि कायमै छ ।
सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ कांग्रेसकै नेताहरूले आलोचना गरिरहेका छन् । आफूहरूले दिएको सुझावअनुसार सरकारले काम नगरेपछि कांग्रेस महामन्त्री गगन थापा बालुवाटारको घेराबाट बाहिर निस्कन खोजेको संकेत गरेका छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सात बुँदामा सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धी विधेयक, त्रिविको उपकुलपति प्रकरण, राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण र नेपाल प्रहरीको एआईजी नियुक्तको विषय विवादका रूपमा उठाएका छन् ।
महामन्त्री शर्माले काँग्रेसका कारण सरकारमा काम गर्न अप्ठेरो भएको भए खुलेर भन्न आग्रह गर्दै कांग्रेस बाहिर बसेरै सरकारलाई समर्थन गर्ने समेत बताएका छन् । उनले भनेका छन्– ‘काँग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने, भोलि काँग्रेसको प्रधानमन्त्री बन्ने बेलामा काँग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमी कमजोरीप्रति प्रश्न गर्छ । जो प्रधानमन्त्री उसैको टिम । यसमा सहमत होऔँ । काँग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीले भन्नुप¥यो, एमालेको प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम दिने टोटल । बरु, अरू साना दललाई गाँसौँला, काँग्रेस बाहिरिने ।’
कांग्रेसका अर्का नेता शेखर कोइरालाले पनि सरकारका कामबारे धेरै अघिदेखि असन्तुष्टि पोख्दै आएका छन् । उनले पछिल्लो समय गठबन्धनकै औचित्यमाथि प्रश्न उठाउनसमेत थालेका छन् ।
कोइरालाले सातबुँदे सहमतिअनुसार एउटा पनि काम नभएको बताउँदै आएका छन् । उनले भन्ने गरेका छन्– ‘हामी सरकारमा छौँ, किनकि यो गठबन्धन कांग्रेस र एमाले मिलेर बनेको छ । हामी चाहन्छौँ यसले राम्रो काम गरोस्, अघि बढोस् । जनतालाई आशा र भरोसा दिन सकोस् । तर सरकारको ध्यान त्यस दिशामा छैन । जनताबाट टाढा हुने काम मात्रै भइरहेको छ । सडकमा आक्रोश बढेको छ ।’
गभर्नर नियुक्तिमा पनि नेता कोइरालाले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् । उनले सार्वजनिक रूपमै सरकार बिचौलियासँग घुमिरहेको आरोप बारम्बार लगाउने गरेका छन् ।
सरकारको कार्यशैलीलाई लिएर सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि चुलिइरहेका बेला प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार गठनका लागि कांग्रेसलाई निःसर्त सहयोग गर्ने सार्वजनिक उद्घोष गरेका छन् । उनले इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आए माओवादीले प्रस्ट सहयोग गर्ने बताएका हुन् ।
कांग्रेसभित्रैको तीव्र असन्तुष्टि र प्रचण्डको पछिल्लो अभिव्यक्तिले सरकारकै भविष्यमाथि समेत संशय पैदा भइरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डको बैंकक भ्रमणमा निस्किएका छन् ।
आइतबार पत्नी डा. आरजु राणा देउवा, छोराबुहारी जयवीर–शिवाना र भतिजा(स्वकीय सचिव) भानु देउवासहित बैंकक प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री आरजु भनेर २१ देखि २५ अप्रिलसम्म बैंककमा हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप)को ८१ औँ सत्रमा सहभागी हुन बैंकक जाने कार्यक्रम बनेको थियो । त्यही सिलसिलामा देउवा पनि नियमित स्वास्थ्य जाँचका लागि बैंकक गएका हुन् । देउवाले १२ वैशाखसम्म अर्थात् झण्डै एक साता बैंककमै बिताउने छन् ।
सभापति देउवा बैंकक उडेपछि उनले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले आफू नफर्केसम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेको उल्लेख गरेका छन् ।
उपचार सिंगापुरमा, फलोअप बैंककमा
२०८० जेठ ३१ गते देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । देउवा २/२ वर्षमा फलोअपमा जानुपर्नेमा त्यसपटक भने ३ वर्षमा सिंगापुर गएका थिए । त्यसअघि उनी ०७७ र ०७५ मा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए ।
स्वास्थ्य उपचारका लागि सधैँ सिंगापुर जाने देउवा यसपटक थाइल्यान्ड गएपछि विभिन्न संका उत्पन्न भएको छ । यसबारे सत्तारुढ दल कांग्रेस र एमालेभित्र चासो बढेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न अघिल्लो बिहीबार बुढानीलकण्ठ जाँदा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही मन्त्रीसँग केही गुनासा र जिज्ञासा थिए । त्यसै क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवालाई सोधे, ‘सभापतिज्यू, तपाईंले सरकारको आयुबारे जति ढुक्क पार्न खोजे पनि यो बीचमा काठमाडौंमा भइरहेका विभिन्न खालका भेटवार्ता, उठबसबारे तपाईंलाई जानकारी नहुने कुरै भएन । यही बेला तपाईं बैंकक जाँदै हुनुहुँदो रहेछ । के छ बैंककमा ?’
देउवाको जवाफ थियो– ‘केही छैन यार । स्वास्थ्यको फलोअप । त्यत्ति हो ।’
शर्माले अरू कोट्याए, ‘यसअघि त तपाईं सिंगापुरमा उपचार गराउन जानुभएको थियो, अनि फलोअप चाहिँ बैंककमा ?’ देउवा कुनै ठोस जवाफ दिएनन् । उनले ट्टा गर्दै भने– ‘स्वास्थ्यको कुरा हो, डाक्टरको कुरा हो । यस्तो भइहाल्छ नि । तपाईंहरू पनि बुढो भएपछि थाहा पाउनुहुन्छ ।’
काठमाडौंमा सत्ता ढलपल हुने हो कि भन्ने आशंकाबीच देउवा भ्रमणमा निस्किएका हुन् । भ्रमणलाई मूलतः राजनीतिक र अनौपचारिक प्रयोजनसँग जोड्न खोजिएको छ ।
खासमा देउवापत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा अहिलेको कांग्रेस–एमाले गठबन्धनको एक मुख्य डिजाइनर हुन । यो यात्रालाई कांग्रेसले सामान्य र नियमित भ्रमणका रुपमा अथ्र्याउन खोजेको छ । यद्यपि पार्टीभित्रका केही उच्च अधिकारी र पूर्वपदाधिकारीले भने देउवाको यात्रालाई स्वास्थ्य भन्दा अरू नै केही प्रयोजनसँग जोड्न खोजिरहेका छन् ।
परराष्ट्रमन्त्री डा. राणाले अध्यक्षता गर्ने ‘इस्क्याप’ को यस पटकको बैठकले एसिया तथा प्रशान्त क्षेत्रका मन्त्री लगायत अन्य सरोकारवालालाई एक ठाउँमा ल्याउने र यो क्षेत्रका समावेशी र दिगो विकासका लागि वर्तमान र भविष्यका जल्दाबल्दा नीतिगत मुद्दाहरूमा विचार विमर्श हुने बताइएको छ ।
सो बैठकमा छिमेकी चीनको तर्फबाट उपविदेशमन्त्री मा चाओछुले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । ब्यांककस्थित नेपाली राजदूतावास स्रोतका अनुसार परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ उपविदेशमन्त्रीबीच भेटवार्ता तय भइसकेको छ ।
प्रधानमन्त्री ओलीप्रति भारतीय संस्थापनको असन्तुष्टि रहे पनि बिमस्टेक शिखर सम्मेलनका प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच २२ चैत्रमा ब्यांककस्थित मन्डारिन ओरेन्टल होटलमा एक्लाएक्लै वार्ता भएको थियो। त्यो भेटवार्ताले दुई मुलुकका संस्थापनबीचको सम्बन्धमा सुधार भयो–भएन भन्ने विषय अहिले पनि संशयकै विषय छ।
नेपालको सत्ता–राजनीतिमा भूराजनीतिक प्रभाव पनि रहने र सत्ता–राजनीतिमा प्रभाव पार्ने गोप्यवार्ताका लागि पछिल्लो समय दक्षिण–पूर्वी एसियाली मुलुकका राजधानीहरूको प्रयोग हुने गरेको चर्चाका कारणले पनि ‘उपचार’ का लागि हुन लागेको देउवाको ब्यांकक भ्रमणप्रति एमाले पंक्ति र बालुवाटारमा चासो बढेको हो ।











