
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ नहुने भएको छ ।
लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षकरणको रिटमाथि सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको इजलासमा पेसी तोकिएको थियो । तर, न्यायाधीश फुँयालले उक्त मुद्दा नहेर्ने बताएपछि सुनुवाइ नहुने भएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेपछि लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् ।
उनलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रविका तर्फबाट श्रीमती निकिताले आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । उनले रिटमा रविलाई रिहा गर्न माग गरेकी छन् ।











