Logo
Logo

अस्ताइन कम्युनिष्टकी ‘आमा’


- दृष्टि न्युज/संवाददाता


हेटौँडा, ६ साउन । कम्युिनष्टहरुको उर्वर थलो हो मकवानपुर । त्यसमा पनि साविकको हटिया गाविस र हालको हेटौँडा उपमहानगरपालिका–१६ र १७ नम्वर वडा । विगत र वर्तमान हटिया कम्युनिष्टहरुको बर्चस्व भएको क्षेत्र हो । धेरै अग्रजहरुको रगत, पसिना, निष्ठा र इमान्दारीताले यो सम्भव भएको हो । कम्युनिष्टहरुको उर्वर क्षेत्र बनाउन जीवनभर पार्टी काममा निस्वार्थ ढंगले खटिरहने महिला नेतृ हुन् हेटौँडा उपमहानगरपालिका–१७ की बालकुमारी थापा ।

उनी इमान्दारी र ज्ञानी थिइन् । एक वर्षअघि भेट हँुदा उनले भनेकी थिइन्– ‘अहिले त कम्युनिष्ट र काँग्रेस छुट्याउन सकिँदैन, अधिकांश कम्युनिष्ट बनेका साथीहरु कसरी पैसा कमाउने र ठूलो पदमा पुग्ने भन्ने लडाइँ गरेको देखिन्छ ।

नेकपा माले, एमाले हँुदै नेकपाकी महिला नेतृ थापाको ७६ वर्षको उमेरमा असार २९ गते दुःखद् निधन भयो । पद, पैसा र आफनो हितका निम्ति कुनै प्रपञ्च नरच्ने सधैँ तल्लो वर्गका लागि मात्र सोच्ने बालकुमारी थापालाई मकवानपुरको कम्युनिष्ट आन्दोलनको ‘आमा’ भन्ने गरिन्थ्यो । सादा जीवन र उच्च विचार बोकेकी बालकुमारीको सामान्य लेखपढ मात्र थियो । तर, उनी इमान्दारी र ज्ञानी थिइन् । एक वर्षअघि भेट हँुदा उनले भनेकी थिइन्– ‘अहिले त कम्युनिष्ट र काँग्रेस छुट्याउन सकिँदैन, अधिकांश कम्युनिष्ट बनेका साथीहरु कसरी पैसा कमाउने र ठूलो पदमा पुग्ने भन्ने लडाइँ गरेको देखिन्छ । महिला नेतृ थापाले तत्कालीन नेकपा मालेका नेता भूमिगत हुँदा घरमा सेल्टर दिएकी थिइन् । त्यतिमात्रै होइन, तत्कालीन मालेको केन्द्रीय कमिटीको बैठक पनि उनको घरमा भएको थियो ।

अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी, नेता जीवराज आश्रित, विद्यादेवी भण्डारी, मालेका महासचिव सिपी मैनाली, नेकपाका नेता प्रदीप नेपाललगायतका नेतालाई उनले सेल्टर दिएकी थिइन् ।

विगत ५७ वर्षदेखि उनी समाज परिवर्तनका लागि लडिरहेकी थिइन् । मकवानपुरकै पहिलो सेल्टर घरलाई उनले २०३३ देखि २०४६ साल सम्म पार्टी कार्यालयजस्तै बनाइन् । पार्टीका हरेक निर्णय भेला हँुदा उनकै घरमा हुने गरेको नेकपा जिल्ला कमिटी अध्यक्ष मुनु सिग्देलले बताए । २०३८ सालमा अखिल नेपाल महिला संघका मकवानपुरकी उनी संस्थापक अध्यक्षसमेत रहेकी थिइन् । पञ्चायतकालमा उनी गाउँको महिला स्वयंसेविकाको काम पनि गर्थिन । स्वयमसेविकाको काम गर्ने भएकाले उनले पार्टीका नेताहरुलाई घरमा लुकाएर राख्ने गरेको अध्यक्ष सिग्देलले बताइन् । अरुको नजरमा उनी स्वयमसेविका जस्तो देखिने गरेको थिइन्, जसले गर्दा विरोधीहरुको आँखा छलेर नेताहरुलाई सेल्टर दिन सफल भएकी थिइन् । उनी स्वयमसेविका भए पनि पार्टीको काममा निरन्तरता दिएकी थिइन् । त्यतिमात्र होइन घरमा सेल्टर लिन कति जना कति बेला आउँछन् उनलाई जानकारी हुने थिएन । त्यस्तो बेलामा थापालाई सेल्टरमा आएकाहरुलाई भात खुवाउन समस्या हुने गथ्र्यो । त्यतिबेला उनले छिमेकीहरुसँग खाद्यान्न ल्याएर नेताहरुलाई खुवाउने गरेको थिइन् । जिल्लास्तरीय नेतादेखि विभिन्न भातृ संगठन र केन्द्रीय कमिटीको बैठक उनको घरमा हुने गथ्र्यो । उनको घरमा तत्कालीन मालेको ६ पटक केन्द्रीय कमिटीको बैठक बसेको थियो । २०३७ वैशाख ३ र ४ गते थापाकै घरमा भएको अगुवा महिलाहरुको प्रथम राष्ट्रिय भेला भएको थियो । उक्त भेलाले नै अखिल नेपाल महिला संघ स्थापना गरेको थियो । भेलामा अष्टलक्ष्मी शाक्य, शान्ता मानवी, सुशीला श्रेष्ठ, राधा ज्ञवाली, जया घिमिरे, गौरा प्रसाईँलगायत महिलाहरुको सहभागिता थियो ।

थापाले मकवानपुरको मात्र होइन मुलुककै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन ठूलो योगदान दिएको अध्यक्ष सिग्देलले भनिन् । हजारौँ बालकुमारीहरुको योगदानबाट आज नेकपा यो हैसियतमा आइपुगेको हो । नेकपाका नेताहरुको अहिलेको कार्यशैली र प्रवृत्तिले बालकुमारीहरुको आत्मालाई शान्ति मिलेको छैन । मुलुक परिवर्तनका लागि विभिन्न आन्दोलन र युद्धमा जीवन नै उत्र्सग गरेकाहरुको परिवारले कसरी चित्त बुझाइरहेको होला । पार्टी निर्माणमा जीवन जोखिममा राखेर सेल्टर दिनेहरुले अवसर पाएका छन् कि तस्करी र बिचौलियाहरुले अवसर पाएका छन् यो अहिले जगजाहेर नै छ ।

बालकुमारी थापाले कहिले पनि पार्टीसँग केही माग गरिनन् । इमान्दारपूर्वक पार्टीलाई सहयोग गर्दै आएकी थिइन् । अध्यक्ष सिग्देलका अनुसार उनी २०२० सालदेखि पार्टीमा सक्रिय भएर लागेकी थिइन् । उनी क्रान्तिकारीमात्र थिइनन् । पार्टी र देशलाई असाध्य माया गर्नुहुन्थ्यो अध्यक्ष सिग्देलले भनिन् । गरिब र महिलाको पनि दिन आउँछ हरेस खानु हँुदैन भनेर हौसला दिने गर्नुहुन्थ्यो, कहिले पनि निरास हुने कुरा गर्नु हुन्थेन, हौसला मात्र दिनुहुन्थ्यो ।

आफ्नो गाउँमा खोप केन्द्र नहँुदा धेरै समस्या भएको हुँदा उनले आफ्नो पहलमा साविकको हटिया–११ मा विभिन्न सहयोगमा खोप केन्द्र स्थापनासमेत गर्नुभएको थियो । हटियास्थित राजदेवीमा उनकै पहलमा सामुदायिक भवन निर्माण गर्नुभएको थियो मुनु सिग्देलले बताइन् । उक्त भवनमा महिलाहरु भेला हुने गर्छन् । उनी जिल्ला विकास समिति मकवानपुरको जिल्ला सदस्यसमेत भएकी थिइन् ।

कम्युनिष्ट आन्दोलनकी धरोहर विगत १५ वर्षदेखि मुटुरोगबाट ग्रसित थापा विगत केही महिनादेखि थला परेकी थिइन् । असार ३० गते उनको दाहसंस्कार गरिएको थियो । उनको पार्थीव शरीरमा नेकपाका केन्द्रीय सदस्यद्वय केदार न्यौपाने, रामेश्वर राना, मकवानपुर पार्टी जिल्ला अध्यक्ष मुनु सिग्देललगायतले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए । उनका श्रीमान् र तीन छोरा छन् ।
– विष्ट

प्रतिक्रिया दिनुहोस्