काठमाडौं । अन्ततः अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार वासिङ्टनमा अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको हो ।
अमेरिकाबाट अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनबाट उपप्रधानमन्त्री एवम् अर्थमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यन्त प्रचार गरेको सम्झौतामा बुधबार हस्ताक्षर भएको अमेरिकी मिडिया वासिंटन पाष्टले उल्लेख गरेको छ । युक्रेनको खनिज सम्बन्धमा भएको यो नयाँ सम्झौता हो ।

समाचारा जनाइएअनुसार यो सम्झौतालाई रूस र युक्रेनबीच तीन वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासको हिस्सा पनि हो । यसले युक्रेनको खनिज स्रोतमा अमेरिकालाई हिस्सा दिने अमेरिकी पत्रिका समाचारमा उल्लेख छ ।
‘ट्रम्प प्रशासन स्वतन्त्र, समृद्ध र शान्तिपूर्ण युक्रेनको पक्षमा छ भन्ने सन्देश यो सम्झौताले दिन्छ,’ हस्ताक्षरपछि अमेरिकी अर्थमन्त्री बेसेन्टले बताएका छन्, ‘रूसको युद्धलाई सहयोग गर्ने कुनै पनि देश वा व्यक्तिले युक्रेनको पुनः निर्माणबाट फाइदा लिन पाउने छैन ।’ न्युयोर्क टाइम्सका अनुसार यो सम्झौता गत फेब्रुअरीमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएर रोकिएको खनिज सम्झौता भन्दा फरक छ ।
यस सम्झौतासँगै अब अमेरिकाले विगतमा युक्रेनलाई गरेको सैन्य सहायताबापतको रकम तिर्न नपर्ने भनिएको छ । यद्यपि, भविष्यका लागि युक्रेनलाई सैन्य सहायता गर्ने भन्ने विषय पनि यसमा ज्ञारेन्टी नभएको बताइएको छ ।
सम्झौतामा युक्रेनले आफ्नो खनिज स्रोतहरूको उत्खननमा अमेरिकी कम्पनीहरूलाई अवसर दिनेछ भने त्यसबाट भएका आम्दानी युक्रेनको पुनः निर्माणमा लगानी गर्ने भनिएको छ । सम्झौतापछि युक्रेनको विकासका लागि संयुक्त लगानी कोषसमेत स्थापना भएको छ ।
सम्झौताले युक्रेनको पुनः निर्माण, आर्थिक वृद्धि र अमेरिकाबाट नयाँ प्रविधि ल्याउन मद्दत हुने प्रधानमन्त्री डेनिस श्मिहालले बताएका छन् । उनले यसले युक्रेनलाई आफ्नो खनिज, जमिन र स्रोतमाथि पूर्ण नियन्त्रण राख्न अधिकार दिएको पनि बताएका छन् ।
युक्रेन र अमेरिकाबीच युक्रेनको प्राकृतिक स्रोत र ऊर्जा सम्पत्तिमा लगानी गर्न कोष स्थापना गर्ने भनेर वैशाख पहिलो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त पत्रमा अमेरिकी अर्थमन्त्री बेसेन्ट र युक्रेनी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री युलिया स्विरिडेन्कोले हस्ताक्षर गरेका थिए ।
युक्रेनी अर्थमन्त्री युलिया स्विरिडेन्कोले यो समझदारीले दुई देशबीचको संयुक्त आर्थिक साझेदारीको बाटो खोलेको र सम्झौताले ठूलो लगानी, पूर्वाधार आधुनिकीकरण र पारस्परिक लाभको अवसर सिर्जना गर्ने बताएकी छन् ।
आधुनिक प्रविधि विकासका लागि चाहिने ती दुर्लभ खनिज पदार्थ अमेरिकाले चीनबाट आपूर्ति गर्दै आएको थियो । चीनसँगको व्यापार युद्धका कारण चीनले अमेरिकालाई त्यस्ता खनिजहरू निर्यात गर्न रोकेको छ । यो सम्झौताले आगामी दिनमा त्यस्ता खनिजहरूमा अमेरिकालाई चीनसँग निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गरेको छ ।










