काठमाडौं । सरकारसँग शिक्षक महासंघले गरेको सहमतिपछि विद्यालय शिक्षक कर्मचारीहरू असन्तुष्ट बनेका छन् ।
बिहीबार सरकारसँग भएको सहमतिबारे सार्वजनिक गर्न रत्नराज्य माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उनीहरूले विरोध जनाएका छन् ।

विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सहमतिमा आफूहरूलाई उपेक्षा गरिएको आरोप लगाएका छन् । सो सहमति आफूहरूलाई मान्य नहुने बताउँदै कर्मचारीहरूले छुट्टै आन्दोलनको घोषणा गरेका छन् ।
सरकार र शिक्षक महासंघबिच बुधबार ९ बुँदे सहमति भएको थियो । सो सहमतिबारे जानकारी दिन बिहीबार काठमाडौँको रत्नराज्य माध्यमिक विद्यालयमा राखिएको थियो । कार्यक्रममा असन्तुष्ट कर्मचारीहरूले होहल्ला गर्दै विरोध जनाएका छन् ।
विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले वि.संं २०७९, २०८० र २०८१ मा आन्दोलनमा विद्यालय कर्मचारीको पक्षमा न्याय नभएको बताए ।
सरकारले शिक्षकहरूलाई ललिपप देखाएको र त्योभन्दा महासंघले आफूहरूलाई ठूलो ललिपप देखाउने काम भएको विद्यालय कर्मचारीले आरोप लगाएको छ ।