Logo
Logo

पाकिस्तानी सेनाप्रमुखको बयान र पहलगाम आक्रमणको संयोग


5.5k
Shares

काठमाडौं । पाकिस्तानी सेनाका प्रमुख जेनरल असिम मुनिर हाल दक्षिण एशियाली कूटनीतिक वृत्तमा निकै चर्चित छन् । भारत–प्रशासित कश्मीरको पहलगाममा सन्दिग्ध चरमपन्थीहरूले २६ जनाको हत्या गरेपछि क्षेत्रीय तनाव चुलिएको छ । उक्त घटनाभन्दा केही दिनअघि जेनरल मुनिरले कश्मीरबारे दिएको एक अभिव्यक्तिले भारत–पाकिस्तान सम्बन्धमा थप कटुता ल्याएको विश्लेषण भइरहेका छन् ।

सेनाप्रमुख मुनिर इस्लामिक विद्वानको परिवारबाट आएका छन् र कुरान कण्ठस्थ ‘हाफिज’ पनि हुन् । सन् १९८६ मा सेना प्रवेश गरेका उनीले उत्तर सीमाना गुप्तचर प्रमुखसम्मका जिम्मेवारी सम्हालेका छन् । नोभेम्बर २०२२ मा सेनाप्रमुख बनेपछि उनी राजनीतिक रूपमा कमजोर पाकिस्तानमा प्रभावशाली शक्ति केन्द्र बनेका छन् ।

इस्लामाबादमा अप्रिल १७ मा आयोजित एक कार्यक्रममा उनले ‘हामी हिन्दहरूभन्दा फरक छौँ” भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले कश्मीरलाई “पाकिस्तानको गर्दनको नसा’ भनेका थिए र भारतविरुद्ध कश्मीरीहरूको सङ्घर्षमा समर्थन जारी रहने वचन दिएका थिए । यस अभिव्यक्तिको पाँच दिनपछि पहलगाममा आक्रमण भएको थियो । 

यो समयगत संयोगले जेनरल मुनिरको छविलाई कूटनीतिक हैन, आक्रामक धाराको रूपमा चित्रण गरेको छ  । यो उनको संयमित पूर्ववर्ती जेनरल कमर जावेद बाजवाभन्दा फरक शैलीको सङ्केत हो । बाजवाले सैन्य तनावमा पनि कूटनीतिक ढोका खुला राखेका थिए । तर मुनिरको भाषणमा रणनीतिक धैर्यता कम, राष्ट्रवाद र सैन्य बलको प्रयोग बढी देखिन्छ ।

जेनरल मुनिरले गुप्तचर प्रमुख हुँदा तत्कालीन प्रधानमन्त्री इमरान खानसँग सम्बन्ध बिग्रिएको थियो । खानलाई हटाउन सेनाको भूमिकाबारे व्यापक बहस भयो । मे ९, २०२३ मा इमरान खान समर्थकहरूले गरेको दङ्गापछि उनले कडा कारबाही गर्दै सेनाको अनुशासन र नियन्त्रण पुनःस्थापित गरे ।

पाकिस्तानमा मुनिरको छवि एक कडा र निर्णायक नेताको बनेको छ, जसले सेना भित्र अनुशासन कायम गर्न तथा राज्यको शक्ति पुनः सेनामा केन्द्रित गर्न भूमिका खेलेका छन् । समर्थकहरूले उनलाई स्थायित्वको प्रतीक मान्छन्, जबकि आलोचकहरू उनलाई असहमति दमन गर्ने सत्ताकेन्द्रित नेता मान्छन् ।

हाल कश्मीरका घटनाक्रम, भारतसँगको तनाव, आतङ्कवाद, र आन्तरिक अस्थिरता जस्ता चुनौतीहरूबिच जेनरल मुनिरको नेतृत्वको परीक्षण हुँदै  छ  । 

प्रतिक्रिया दिनुहोस्