Logo
Logo

सरकारले अन्त्य गरेकै दिन राजविराजमा ‘लकडाउन’मा कडाइ


- दृष्टि न्युज/संवाददाता


सप्तरी, ७ साउन । सरकारले लकडाउन अन्त्य गरेकै दिन बुधबारदेखि राजविराज नगरपालिकाले भने लकडाउन झनै कडा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले बुधबारदेखि करिब चार महिने लकडाउनको अन्त्य गरेको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड(१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन अन्त्य भएकै दिन राजविराज नगरपालिकाले समुदायमा कोरोना फैलिएको भन्दै लकडाउन कडा गर्ने निर्णय गरेको हो ।
राजविराज–६ स्थित घरमै कोशी ग्यास र खाद्य बिज भण्डारको पसल रहेका ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको मृत्यु भएपछि ‘कन्याक्ट ट्याकिङ र ट्रेसिङ’ गर्दै जाँदा थप २ जनामा कोरोना पुष्टि भएपछि लकडाउन कडा गर्न चौतर्फी दवाव बढेकाले नगरपालिकाले लकडाउन पूर्ण पालना गर्ने, गराउने निर्णय गरेको हो ।
हालसम्म मृतकको परिवारका पाँच सदस्य, पसलमा काम गर्ने ५५ वर्षीय कामदार, छिमेकी ५३ र ४८ वर्षीय दम्पत्ती, मृतकको स्वामित्वको सफटेक कलेजका व्यवस्थापक ३७ वर्षीय पुरुष, अस्पतालको पोषण गृहमा कार्यरत उनकी श्रीमती ३२ वर्षीया नर्स, उनीहरुको घरमा काम गर्न जाने अस्पतालकी स्वीपर ३६ वर्षीया महिला गरी ११ जनामा कोरोना संक्रमण देखा परिसकेको छ ।
स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले संक्रमितको सम्पर्कमा रहेका झण्डै एक सय जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको बताए । अस्पतालमा कार्यरत नर्स र स्वीपरमा बुधबार कोरोना देखिएपछि अस्पतालमा कार्यरत १ सय ९८ जना कर्मचारी चिकित्सकको परीक्षण गर्न लागिएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ११ चैतदेखि भएको लकडाउन नेपालभरी अन्त्य भएपछि ठप्प रहेको होटल व्यवसाय, बजार खुल्ने भएको छ भने राजविराजमा जेठको अन्त्यदेखि खुकुलो भएको लकडाउन कडा हुने भएको छ ।
नगरपालिकाले अत्यावश्यक कामबाहेक बाहिर निस्किन प्रतिबन्ध जारी गर्दै नगरभित्रको सरकारी, गैरसकारी कार्यालय, बैंक, बित्तिय संस्था, बजार, पसल बन्द गरी लकडाउनको पूर्ण पालना गर्न बिज्ञप्ति जारी गर्नुका साथै माइकिङ्ग समेत गरेको छ । नगरपालिकाको यो निर्णय अनुसार अब बजार, पसल खोल्न तथा अति आवश्यक काम बाहेक घरबाट निक्लिन पाइने छैन् ।
पछिल्ला दिनमा बढदै गएको कोरोना संक्रमण घटेमा र स्वाबको रिपोर्ट सन्तोषजनक आएमा फेरि लकडाउन खुकुलो हुने नगर प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।
कोरोना भाइरसका कारण पाँच महिनाको अवधिमा सप्तरीको राजविराजका एक पुरुषसहित नेपालका ४० जनाले ज्यान गुमाएका छन् । सप्तरीमा संक्रमितको संख्या ४ सय ४ पुगेको छ । संक्रमितमध्ये २३ महिलासहित २ सय ८९ जना निको भएका छन् । हाल १० महिलासहित ८४ जना राजविराजस्थित आइसोलेसन केन्द्रमा रहेका छन् । मृतक परिवारका पाँच जनासहित बाँकी घरमै आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्