
एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानबाट पाँच पाकिस्तानी प्रहरी अपहरणमा परेका छन् ।
आइतबार एक पृथकतावादी समूहले पाकिस्तानी प्रहरीको निगरानीमा रहेको जेल भ्यानमा आक्रमण गरी पाँच प्रहरीलाई अपहरण गरेको हो । अपहरणमा परेका प्रहरीको उद्धार प्रयास भइरहेको छ । अपहरणकारीको उक्त समूहले त्यस क्षेत्रमा रहेका केही सरकारी भवन र एक बैङ्कमा समेत आगजनी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
एक सरकारी अधिकारीले जानकारी दिएअनुसार सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा दुई आक्रमणकारी मारिएका छन् ।
पाकिस्तान विगत केही दशकदेखि बलुचिस्तानमा पृथकतावादी विद्रोहको सामना गरिरहेको छ, जहाँ राज्य सुरक्षा बल, विदेशी नागरिक तथा गैर–स्थानीय नागरिकहरू आक्रमणको निशानामा पर्छन् ।
उक्त क्षेत्रको सबैभन्दा सक्रिय समूह बलुच लिबरेशन आर्मी (बीएलए)ले कलात जिल्लामा भएको आक्रमणको जिम्मा लिएको छ । बीएलएले विगतमा विदेशी लगानीमा निर्माण भइरहेका ऊर्जा परियोजना, विशेषगरी चीनद्वारा समर्थित योजनाहरूलाई लक्षित गर्दै आएको छ ।
यस वर्ष मार्चमा सोही समूहले एक रेल नियन्त्रणमा लिई सयौं यात्रुहरूलाई बन्धक बनाएको थियो । र त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूमाथि आक्रमण गरेको थियो ।