
एजेन्सी । भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि भारत तथा पाकिस्तानले कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द गरेका छन् । भारतीय अधिकारीहरूले भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द रहने घोषणा गरेका छन् ।
त्यस्तै पाकिस्तानले पनि भारतले आफ्नो देशमा सैन्य कारबाही गरेपछि प्रतिकार गर्ने तयारी गरिरहेको दाबी गर्दै राजधानी इस्लामाबाद र पंजाब प्रान्तका विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ । पंजाबकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था बन्द गरिने घोषणा गरेकी हुन् । तर, अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरूद्वारा सञ्चालन हुने परीक्षाहरू भने यथावत् रहने छन् ।
गत महिना भारत नियन्त्रित कश्मीरको पहलगाममा भएको आतंककारी हमलामा एक नेपालीसहित २६ जना पर्यटकले ज्यान गुमाएका थिए । उक्त हमलाको प्रतिकारमा भारत सरकारले गएराति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका ९ स्थानमा मिसाइल प्रहार गरेको बताएको छ ।
पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेपछि स्थिति तनावग्रस्त बनेको छ । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको यो हमलामा बालबालिकासहित दुवै देशका नागरिकहरू मारिएको खबर आउन थालेको छ ।










