Logo
Logo

नेपाल प्रहरीमा ‘नमस्ते टोली’को बिजोग


16.8k
Shares

काठमाडौं । नेपाल प्रहरीमा नमस्ते टोलीको बिजोग छ । अहिले नेपाल प्रहरीमा एसएसपीबाट डिआइजी पदमा बढुवा हुन लागेपछि यसको चर्चा हुन थालेको हो । हुन पनि १० रिक्त पदमा हुन लागेको बढुवामा तीन वटा ब्याचहरूको भीडन्तले प्रहरीभित्र हलचल भएको बेला साम, दाम सबै प्रयोग गर्न कोही कसैले बाँकी राखेका छैनन् ।

डिआइजी पदमा बढुवाको दावेदारमा २०५४ साल चैतमा सेवा प्रवेश गरेका, २०५६ साल असारमा सेवा प्रवेश गरेका र २०५८ सालमा नेपाल प्रहरीमा छिरेका तर राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेको मिति जोडेर ‘सिनियर’ बनेका टोलीहरूको प्रतिस्पर्धा छ ।

२०५४ साल चैतमा खुला प्रतिस्पर्धाबाट प्रहरी सेवा प्रवेश गरी २०७९ साउन ३ गते एसएसपी भएका २ जना, २०५८ सालमा नेपाल प्रहरीमा छिरेका तर राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेको मिति जोडेर ‘सिनियर’ बनेका र २०७९ साउन ३ गते नै एसएसपी भएका १० जना तथा २०५६ साल असारमा खुला प्रतिस्पर्धाबाट प्रहरी सेवामा प्रवेश गरी २०८० वैशाख २४ गते एसएसपी भएका १५ जना गरी जम्मा २७ जना अधिकृतहरुको बीचमा १० सीटको लागि प्रतिस्पर्धा भइरहेको छ ।

२०५४ र २०५६ सालमा प्रहरी निरीक्षक पदमा खुला प्रतिस्पर्धामा सामेल भएर लोक सेवा आयोगद्वारा लिइएको लिखित परीक्षा, शारीरिक बाधापार परीक्षा, मेडिकल टेस्ट तथा अन्तर्वार्ता आदि सबै चरण पार गरेर सेवा प्रवेश गरेका अधिकृतहरू तुलनात्मक रुपमा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएका अधिकृतहरू भन्दा कार्यक्षमता, अनुभव, अनुशासन, नैतिकता, आचरण र पदीय मर्यादाको सवालमा अब्बल रहेका छन् ।

नेपाल प्रहरीमा ‘नमस्ते टोली’ को नामबाट परिचित राष्ट्रिय अनुसन्धान विभागबाट आएका यी अधिकृतहरू ‘चुरोटको खोलमा निवेदन लेखेर जागिर खाएका’ भनेरसमेत आरोप लाग्दै आएको छ । नेपाल प्रहरीमा २०५८ सालमा प्रवेश गर्ने तर राष्ट्रिय अनुसन्धानमा छिर्दाको अवधि जोडेर आफूलाई २०५३ र २०५४ सालको ब्याच भन्दै हिँड्ने यिनीहरूको टोली तत्कालीन समयमा ३० जनाभन्दा बढीको संख्यामा नेपाल प्रहरीमा स्थानान्तरण हुन सफल भएको थियो । नियमित प्रतिस्पर्धा गर्न नसकी बीचमा ‘झ्यालबाट छिरेका’ यिनीहरूलाई नेपाल प्रहरीमा प्रवेश गरेको मितिदेखि मात्र सिनियारिटी कायम गरिनुपर्छ भनेर प्रहरीमा खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेका २०५४ साल, २०५६ साल तथा २०५८ सालका तत्कालीन प्रहरी निरीक्षक टोलीहरुले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका थिए ।

अदालतले सरकारको निर्णयलाई सदर गरिदिएपछि उनीहरूले आफू सिनियर भएको दाबी गरेका थिए । यद्यपि, प्रहरी नियावलीमा तालिमको आधार उल्लेख भएपछि उनीहरू खुम्चिएका हुन् । यही कारण २०५४, २०५६ तथा २०५८ सालमा सेवा प्रवेश गरेका क्रमशः १११, ११२ र ११४ औं टोलीका प्रहरी अधिकृतहरु बढुवामा सधैं पछाडि परेका थिए । प्रहरीमा धेरैपछि आए पनि उताको सेवा अवधि जोडेर जबरजस्ती सिनियर भएका ३० जनाभन्दा बढीको संख्यामा रहेकालाई शक्तिको आडमा प्रहरी नियमावलीले थेगेको थिएन ।

भर्खरै मात्र नेपाल प्रहरीमा ६ जना एआइजीको बढुवा भयो । यही बढुवामा समेत पैसा र पावर प्रयोग गरी यिनीहरू झण्डै बढुवा हुन लागिसकेका थिए, यिनीहरूकै कारणबाट झण्डै एक महिनापछि धकेलिएको बढुवा प्रक्रियामा अन्ततः नेपाल प्रहरीले अनुसन्धान विभागबाट आएकालाई नेतृत्वमा पु¥याउने अवस्था देखिएन ।

अब हुने एसएसपीबाट डिआइजीको बढुवामा पनि अनुसन्धान विभागबाट स्थान्तरण भएका पाँच जनालाई अघि बढाउने नीति अख्तियार गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ । प्रहरी नियमावलीअनुसार राष्ट्रिय अनुसन्धान विभागको अधिकृतभन्दा नेपाल प्रहरीको त्यही दर्जाको अधिकृत मर्यादाक्रममा माथि हुन्छ ।

जस्तो कि २०५३ सालमा सेवा प्रवेश गरेको राष्ट्रिय अनुसन्धान विभागको निरीक्षक भन्दा २०५४ सालकै भए पनि नेपाल प्रहरीको प्रहरी निरीक्षक मर्यादाक्रममा माथि हुन्छ वा सिनियर हुन्छ । यसरी स्वाभाविक रुपमा राज्यको मर्यादाक्रममा ‘माथि’ रहेका अधिकृतलाई सेवा परिवर्तन गरेर आएका र केही दिन अगाडिसम्म ‘तल’ राखिएको भए पनि अहिलेको बढुवामा दुवै पक्षलाई समेटेर लैजाने नीति अख्तियार गरिएको स्रोतको दाबी छ ।

बढुवा समितिको सदस्यमा आईजीपी दीपक थापा र सदस्य सचिव मानव श्रोत विकाश विभागका एआइजीपी दान बहादुर कार्की छन् । डिआइजीको प्रतिस्पर्धामा २०५६ असार ३ मा भर्ना भएका अधिकृतहरुको दबाब छ । २०५६ टोलीका विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दिप शम्शेर जबरा, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्ण बहादुर पल्ली मगर र तारादेवी थापा प्रतिस्पर्धामा छन् ।

उनीहरूभन्दा अघिल्लो टोलीमा राष्ट्रिय अनुसन्धान विभागबाट आएका र २०५४ चैतमा प्रहरी सेवामा प्रवेश गरेकाहरू छन् । २०५४ मा भर्ना भएका ओम राना, सुदर्शन कोइराला,, दीपेन्द्र जीसी, दीपक रेग्मी लगायत पनि डिआइजी बन्ने दौडमा छन् । उनीहरूसँगै भर्ना भएका दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी चाहिँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भैसकेपछि रिक्त रहेको स्थानमा बढुवा गर्नुपर्ने बाध्यता रहेको छ ।

राष्ट्रिय अनुसन्धान विभागबाट आएका शारदा प्रसाद चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्र बहादुर गुरुङ, दिलीप सिंह देउवा र दीपक कुमार बस्नेत डिआइजीको प्रतिस्पर्धी छन् । ओम बहादुर राना, दिलीप सिंह देउवा, सुरेन्द्र बहादुर गुरुङ र माधव प्रसाद श्रेष्ठ २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए ।

दीपेन्द्र घर्ती क्षेत्री २०५५ जेठ ७ मा, दीपक कुमार बस्नेत, विनोद घिमिरे र जयराज सापकोटा २०५४ माघमा राष्ट्रिय अनुसन्धानमा सेवा प्रवेश गरेका हुन् । अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत विनोद घिमिरे कांग्रेस सभापति शेर बहादुर देउवाका स्वकीय सचिव भानु देउवा मार्फत डिआइजी बढुवा हुन लबिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्