
नेपाली सेनामा व्यापक भ्रष्टाचार हुने गरेको समाचार बेलाबखत सञ्चार माध्यममा आउने गरेको छ । सेनामा महँगा हतियारदेखि हेलिकप्टर लगायतका सामाग्री खरिदमा बिचौलिया हाबी हुने गरेका छन् ।
अर्बौँ अर्बको खरिदमा भ्रष्टाचार हुने गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्ने अधिकार नहुँदा सेनामा भएका भ्रष्टाचार वर्षैपिच्छे बढ्दै गएको छ । यस क्रममा सेनाको एक खर्ब पुग्न लागेको सैनिक कल्याणकारी कोष परिचालनमा श्रृखलाबद्ध भ्रष्टाचार हुुन थालेको छ ।
कल्याणकारी कोष परिचालनमा सेनाको नेतृत्वमा जो आएपनि भ्रष्टाचार अनियमितता हुने क्रम रोकिएको छैन । राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्रभुराम शर्मा हुँदै अहिले अशोकराज सिग्देलसम्म पनि कल्याणकारी कोष दोहन गर्ने क्रम जारी भएको स्रोतले बताएको छ ।
करिब ४९ वर्षअघि सुरु गरेको सैनिक कल्याणकारी कोषको सम्पत्तिमा धेरै जसो सेनापतिहरू आफैले आफूनिकट अधिकारीहरूलाई खटाउने हुँदा हिनामिना हुने गरेको छ । यद्यपि, यो विषयमा कतै छानबिन भएमा प्रधानसेनापतिहरू जोगिने र कोषमा खटिएका कर्मचारीहरू मात्रै सजायको भागिदार बन्ने गरेका छन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापनार्थ विभिन्न द्वन्द्वग्रस्त मुलुकमा सहभागी भएबापत प्राप्त करिब एक करोड २५ लाख रुपैयाँ राखी २०३२ सालमा सो कोष स्थापना गरिएको थियो ।
पछिल्लो पटक सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाली सेनाका बहालवाला २ र अवकाशप्राप्त दुई सैनिक अधिकारीहरूविरुद्ध मुद्धा अघि बढाइएको छ । सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर छानबिन गरिरहेको सेनाको स्रोतले जनाएको छ ।
कोर्ट अफ इन्क्वाएरीको क्रममा हिनामिनामा उनीहरूको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सलको प्रक्रिया अगाडि बढेको छ भने सैनिक ऐनअनुसार कारबाहीको दायरामा नपर्ने अवकाश भइसकेका २ जनालाई कारबाहीको जिम्मा प्रहरीलाई दिइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धानपछि अवकाशप्राप्त दुई जनाविरुद्ध पनि अदालतमा मुद्दा दायर भएको छ ।
अदालतमा मुद्दा पुगेपछि सेनाभित्रको कल्याणकारी कोषमा हुने गरेको भ्रष्टाचार बाहिर आएको हो । ‘अदालतमा मुद्दा दायर भएको २ करोडको मात्र हो तर भित्र सबैतिर मिलाएर कारोबार गरिन्छ, महालेखा परीक्षकदेखि सञ्चार जगतलाई समेत मिलाएर कारोबार गरिएको हुन्छ’, कोषमा कार्यरत एक सैनिक अधिकारीले दृष्टिसँग भने । उनका अनुसार महालेखाबाट आउने कर्मचारी, रक्षा मन्त्रालयका कर्मचारी र अर्थमन्त्रालयका कर्मचारीहरूलाई समेत भित्रभित्रै मिलाउने गरिएको स्रोतले बताएको छ ।
यतिबेला अदालतमा गएको मुद्दामा भने यसअघि सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा चारजनाले सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । नेपाली सेनाले कोर्ट अफ इन्क्वाएरी (आन्तरिक छानबिन)का क्रममा उनीहरूको पनि संलग्नता पुष्टि भएपछि थप कारबाहीका लागि काठमाडौँ प्रहरीलाई जिम्मा लगाएको थियो । परिसरले उनीहरूको मुद्दा अदालतमा लगेको हो ।
प्रहरीले सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापालाई पक्राउ गरे पनि एक जना तत्कालीन सेनानी लक्ष्मण अधिकारी भने अमेरिका पुगिसकेकाले फरार बनाइएको छ । थापा काठमाडौँ प्रहरीको हिरासतमा छन् ।
उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत आपराधिक विश्वासघातको कसुरमा मुद्दा दायर भएको छ । सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीले सैनिक कल्याणकारी निर्देशनालय अन्तर्गत आवास तथा बिमा शाखाबाट आवास तथा बिमा बापतको रकम हिनामिना गरेको उल्लेख गरी प्रहरीलाई पत्र पठाएको थियो ।
उक्त शाखामा रहँदा वास्तविक रुपमा भुक्तानी गर्नु पर्ने व्यक्तिलाई नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गर्ने र हिनामिना गर्ने कार्यमा उनीहरूको संलग्नता पुष्टि भएको सेनाको आन्तरिक छानबिनबाट समेत पुष्टि भएको थियो ।
यी चारजना उक्त शाखामा कार्यरत रहँदा २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना गरेको आरोप छ । आत्माराम थापा समेतको संलग्नतामा २०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ गतेसम्म १४४ थान चेकबाट एक करोड ४७ लाख २१ हजार ३२९ रुपैयाँ ८८ पैसा र २०७३ फागुन ९ गतेदेखि २०७५ असोज १७ गतेसम्म ४० थान चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ ६० पैसा हिनामिना गरेको आरोप छ ।
बहालवाला अधिकृतविरुद्ध भने अदालतमा नभई सेनाले आफैँ कारबाही गर्ने भएकाले सैनिक हिरासतमै राखिएको हो । हाल सहायक रथी रहेका खड्का त्यतिबेला प्रमुख सेनानी र बोधराज कार्की सेनानी हुँदा सँगै कार्यरत थिए । अवकाशप्राप्त जमदार थापाले यसरी नक्कली कागजात खडा गरेर भुक्तानी गर्ने कार्य सहायक रथी खड्का समेतको निर्देशन बमोजिम नै गरेको बयान दिएका छन् । हिनामिना गर्दा काटिएका चेक अधिकांश थापाकै नामबाट भुक्तानी भएको भेटिएको छ ।
थापाले कल्याणकारी कोषको रकम हिनामिना गर्दा काटेका ४० वटा चेकको फोटोकपी र रकमको विवरण समेत प्रहरीलाई बुझाएको थियो । यसअघि सेनाले कोर्टअफ इन्क्वाएरी गरेको थियो । कोर्ट अफ इन्क्वाएरीको ४३ पानाको रिपोर्ट पनि प्रहरीलाई दिएको छ । बहालवाला सैनिकको हकमा सैनिक ऐन अनुसार नै कारबाही अगाडि बढाउने सेनाको पत्रमा उल्लेख छ ।
आत्मराम थापाले प्रहरीमा दिएको बयानअनुसार उनी त्यहाँ कार्यरत रहँदा तत्कालीन सेनानी लक्ष्मण अधिकारी, तत्कालीन सेनानी बोधराज कार्की, तत्कालीन प्रमुख सेनानी (हाल सहायक रथी) रोशन खड्का पनि कार्यरत भएकाले उनीहरूको निर्देशन बमोजिम त्यो सबै रकम अपचलन भएको थियो । आत्मरामले त्यतिबेला यी तीनजना सिनियर अधिकारीहरूको निर्देशन बमोजिम नै काम गरेको बयान दिएका छन् ।
उनीहरूले दिएको सूची अनुसार नै आत्मरामले चेक तयार गर्ने र रकम निकालेर ल्याउने गरेको उनले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । चेक तयार भइसकेपछि उक्त रकम समेत भुक्तानी लिएर आउन आफूलाई निर्देशन दिने गरेको पनि थापाको बयान छ ।
त्यतिबेला उक्त शाखामा सबैभन्दा जुनियर आफू भएकाले निर्देशन अनुसार मात्रै काम गरेको उनको बयान छ । कल्याणकारी कोषको रकम नेपाल बैंक त्रिपुरेश्वरको शाखाबाट लिने गरेका थिए। त्यसरी भुक्तानी लिइसकेपछि उक्त रकम खड्का, अधिकारी र कार्कीलाई बुझाउने गरेको बयान थापाले दिएका छन् ।
त्यस्तो फर्जी काम गरेबापत आफूलाई बिदामा सहुलियत, पेट्रोलको कुपन र क्यान्टिनमा खाजाको रकम तिरिदिने गरेको आत्मरामको बयान छ । उनले सवा २ करोड रकम तीनजनाकै निर्देशनमा निकालेको स्वीकार गर्दै सबै रकम उनीहरूलाई नै दिएकोसमेत दाबी गरेका छन् । सैनिक कल्याणकारी कोषको ४ लाखभन्दा बढी रकम निकाल्न सहायक रथीको हस्ताक्षर आवश्यक हुन्छ भने त्यो भन्दा कमको रकम निकाल्न कम्तीमा २ जना अधिकृतको हस्ताक्षर आवश्यक पर्ने कानुनी व्यवस्था छ । तर यी चारजनाले भने विभिन्न व्यक्तिको नाममा लिएको रकममा आफैँ हस्ताक्षर गरेर झिकेको खुलेको छ । आत्मराम थापाले यसअघि सैनिक छानबिनका क्रममा ३० लाख रुपैयाँ आफूले अपचलन गरेको स्वीकार गरेका थिए ।
प्रहरीले उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५२ बमोजिम आपराधिक विश्वासघात गर्न नहुने कसुरमा कारबाही माग गरेको छ । यस्तै अपचलन भएको रकम बिगो भराउन पनि माग गरिएको छ । उक्त दफा अनुसार कसुर पुष्टि भएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । आत्मराम नेपाली सेनाको अमलदार पदमा २०५९ पुस २२ गते भर्ना भएका थिए। पहिले विभिन्न युनिटहरुमा काम गरेका थापा २०७३ सालदेखि २०७५ सम्म कल्याणकारी निर्देशनालय अन्तर्गत आवास तथा बिमा शाखा भद्रकालीमा थिए ।
जमदार जेलमा, हाकिम विदेशतिर
कोषभित्रको रकममा फर्जी चेक काटेर करोडौँ हिनामिना गरेको पुष्टि भएपछि नेपाली सेनाका एक अवकाशप्राप्त कर्मचारी जेल चलान भएका थिए । सेनाको कल्याणकारी कोष हिनामिनामा तानिएका सेनानी समीर गुरुङ भने बेलायत भासिएका छन् । एक वर्ष अवकाश पाएका सेनानी (मेजर) समीरकुमार गुरुङको योजनामा कोषको रकम हिनामिना भएको हो । हिनामिनामा संलग्न पूर्वजमदार रवीन्द्र लुंगेलीलाई भने प्रहरीले पक्राउ गरी आपराधिक विश्वासघात मुद्दा चलाएको थियो । लुंगेली गत माघमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
गत २०८१ साल १ जेठमा अवकाश पाएका सेनानी गुरुङ बेलायत गएको पुष्टि भएको छ । अदालतले उनीविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । सेनाको कल्याणकारी कोषमा साढे तीन करोड हिनामिना भएको दुई वर्षपछि बल्ल सेनाले चाल पाएर थप छानबिन थालेको थियो । सेनाले महासेनानी उत्तम सापकोटाको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी छुट्टै अनुसन्धान गरिरहेको छ । यसक्रममा प्युठ टीकाराम गोतामे पनि सैनिक अनुसन्धानमा तानिएका थिए ।
सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गतको आवास तथा बिमा शाखाबाट फर्जी चेक बनाएर लामो समयसम्म रकम हिनामिना भएको आरोप छ । अवकाशमा जाने सैनिक कर्मचारीले आवास तथा बिमा कोषबाट रकम पाउँछन् । त्यसमा वास्तविकभन्दा धेरैजना अवकाशमा गएको देखाई उनीहरूको नाममा चेक काटेर करिब दुई वर्षको अवधिमा साढे तीन करोड रकम हिनामिना गरिएको थियो ।
आर्थिक वर्ष ०७८/७९ र ०७९/८० मा रकम हिनामिना भएको पुष्टि भइसकेको छ, त्यसअघिका वर्षमा पनि त्यसैगरी हिनामिना भएको आशंकामा सेनाले विस्तृत अनुसन्धान गरिरहेको जनाएको थियो । यसको रिपोर्ट भने अझै बाहिर आएको छैन । यसमा सैनिक कल्याणकारी निर्देशनालयका तत्कालीन प्रमुखहरूको भूमिकामाथि समेत छानबिन भइरहेको स्रोतको भनाइ छ ।
घटनाले सेनाको लेखापरीक्षण प्रणालीमाथि समेत प्रश्न उठेको छ । हाल थुनामा रहेका लुंगेलीले एक करोड ३८ लाख लिएको स्वीकार गरेका छन् । सो पैसाबाट भक्तपुरको च्यामासिंहमा ७५ लाख, सर्लाहीको लालबन्दीमा १८ लाख तथा चितवनको सौराहामा नौ लाखमा जग्गा खरिद गरेको बताएका छन् ।
यस्तै, १७ लाख छोरालाई अस्ट्रेलिया पठाउन खर्च भएको उनको बयान छ । उनले तत्कालीन मेजर गुरुङको निर्देशनमा आफूले विभिन्न ‘सिभिलयन’को नाममा चेक काटेर हस्ताक्षर गर्न लगाई नेपाल बैंकमा रहेको खाताबाट पैसा निकालेको बताएका छन् । उनले प्रहरीमा दिएको बयानमा भनेका छन्, ‘सेनानी समीर गुरुङले चिटमा दर्जा नामथर ब्याच नम्बर रकम उल्लेख गरी उक्त व्यक्तिका नाममा चेक बनाउनु भनी मलाई आदेश दिने गरेको हुँदा मैलेसमेत सोहीअनुसार चेकहरूमा रकम र नाम भरी सेनानी समीर गुरुङलाई दिने गरेको र मलाई गैरसैनिक व्यक्तिको नाममा उक्त खाताको चेकबाट रकम भुक्तानी लिँदा थाहा नपाउने रहेछ भन्ने लागेपछि मैले हप्तामा दुई–तीनजनाको नाममा ४०÷५० लाख रुपैयाँभन्दा बढी रकमबराबरको फर्जी चेकहरू काटिदिएको हुँ ।’
कात्तिक ०८० मा स्वैच्छिक अवकाश लिएर सेनाको जागिर छाडेका उनलाई सेनाले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि प्रहरीले पक्राउ गरेको थियो ।
नेपाली सेनाको हिनामिना गरेको रकमले शाही, कार्की, भण्डारी र महासेनानी लक्ष्मण थापाले कैलालीको बुढीतोला ईलाकामा कालिज फार्म र झापामा कृषि फार्म खोलेका छन् । बारामा समेत उनीहरूको लगानीमा ठूलो परिमाणमा जग्गा खरिद गरी बाख्रा पालन, माछा पालन गरिएको छ र सो जग्गाको व्यवस्थापन गर्न पूर्वप्रमुख सेनानी रामबहादुर थापालाई जिम्मा दिएको छ । ललितपुरको लुभु इलाका, महालक्ष्मीस्थानमा प्रेम शाहीले आफ्नो सालोको नाममा र रघु भण्डारीले छोरीको नाममा जग्गा खरिद गरेको विषयले सेनाभित्र उजुरी परे पनि छानबिन हुन सकेन । तर उनीहरू माथि अन्य विषयमा भने छानबिन भयो ।
भ्रष्टाचारको रकम कहाँ-कहाँ लगानी भयो ?
नेपाली सैनिक वीरेन्द्र अस्पतालमा कमान्ड अधिकृत रहँदा उपरथी रघु भण्डारी (अप्रा) र उपरथी प्रेम शाहीहरूले औषधि खरिद, विभिन्न सामानहरू खरिद र निर्माण कार्यमा चरम लापरबाही गरी ठूलो मात्रामा आर्थिक हिनामिना गरेको भन्दै सेनामा उजुरी परेको थियो ।
तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई सम्बोधन गरेर लेखिएको उजुरीमा उल्लेख भए अनुसार यस सम्बन्धमा विगतमा छानबिन समेत भए तापनि सो छानबिनको कागजातलाई उनीहरूले पैसा र नाता सम्बन्धको कारण लुकाउन सफल भएको बताइएको छ । ‘यी दुवै जनाले जागिरको दौरान अकुत सम्पत्ति आर्जन गरी राखेको हुँदा वास्तविक रूपमा छानबिन गरी प्रचलित कानुन अनुसार कारबाहीको लागि अनुरोध गर्दछौँ,’ उजुरीमा भनिएको थियो । तर यो विषयमा नेपाली सेनाले छानबिन आवश्यक नै ठानेन ।
यस्तै, उपरथी शाहीले आफू डिजिएमओमा बस्दा, रघु भण्डारी संभाररथीको कार्यालयमा रहँदा र उपरथी अनन्त कार्की नीति महानिर्देशक रहँदा पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापालाई अरु जनरलहरुको कुरा लगाएर नजिक भएको र पूर्वप्रधानसेनापतिलाई फकाएर रकम हिनामिना गरेको विषयले नेपाली सेनाभित्र तत्कालीन समयमा ठूलो हलचल आएको थियो ।
नेपाली सेनाको हिनामिना गरेको रकमले शाही, कार्की, भण्डारी र महासेनानी लक्ष्मण थापाले कैलालीको बुढीतोला ईलाकामा कालिज फार्म र झापामा कृषि फार्म खोलेका छन् । बारामा समेत उनीहरूको लगानीमा ठूलो परिमाणमा जग्गा खरिद गरी बाख्रा पालन, माछा पालन गरिएको छ र सो जग्गाको व्यवस्थापन गर्न पूर्वप्रमुख सेनानी रामबहादुर थापालाई जिम्मा दिएको छ । ललितपुरको लुभु इलाका, महालक्ष्मीस्थानमा प्रेम शाहीले आफ्नो सालोको नाममा र रघु भण्डारीले छोरीको नाममा जग्गा खरिद गरेको विषयले सेनाभित्र उजुरी परे पनि छानबिन हुन सकेन । तर उनीहरू माथि अन्य विषयमा भने छानबिन भयो ।
तत्कालीन समयमा अनन्त कार्कीले मोरङ र सुनसरी इलाकामा कालो धनले जग्गा किनेर राखेको, कार्कीसंगको सेटिङमा प्रेम शाहीले आफू पृतना कमाण्डमा जाँदा अत्याधिक धेरै रकमहरू प्रचलित नीति नियम र कानुन विपरीत निकासा गरी लगेको र सो रकम खर्च गर्दा टुक्रा टुक्रा टेन्डर निकाली बिल बनाएर खर्च गरेको र रकम हिनामिना गरेर बचत गरेको रकम रघु भण्डारी, अनन्त कार्की, प्रेम शाही र लक्ष्मण थापाको साथै महासेनानी माधव थापा मिलेर अपचलन गरेको विषयले भने छानबिनको दायरामा पुग्यो । उनीहरूमाथि कारबाही पनि भयो ।
शाही डिजिएमओ रहँदा प्रधानसेनापतिको कार्यालय (भूकम्पपछि बनाइएको, सभाहल नजिकको) लाई पुनर्निर्माण गर्न भनी ठूलो मात्रामा रकम (३ करोड रुपैयाँ) निकासा गरेको, उक्त कार्यको लागि उनले कार्की, भण्डारी र मसे थापासँग मिलिभगत गरी ५ करोड बराबरको ठेक्का लगाएको, तर १ करोड बराबरको कार्य मात्र ठेकेदारबाट गराई बाँकी रकम आफै लिई गुड फर पेमेन्टमा राखी आफूलाई कमिसन दिने सर्तमा आफू अनुकूलको ठेकेदारलाई प्रयोग गरी अत्यधिक महंगोमा काम गराएको विषयमा अनुसन्धान भएको थियो तर यसलाई टुंगोमा नपुर्याई सामसुम पारियो । यसरी सेनाको कल्याणकारी कोषमा विगतदेखिनै विभिन्न बहनामा भ्रष्टाचार हुने गरेको छ ।
४९ वर्षमा सेनाको कोषमा ८७ अर्ब
नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा के कति रकम छ भन्ने बारेमा हरेक वर्ष पत्रकार सम्मेलन गरेर जनाकारी दिने गरेको छ । गत फागुनमा दिएको जानकारी अनुसार सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको सेनाको भनाइ छ । जसमध्ये बैङ्क तथा वित्तीय संस्थाहरूमा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ र विभिन्न परियोजनाहरूमा लगानी ७ अर्ब ७२ करोड ४४ लाख रहेको सेनाको भनाइ छ ।
यद्यपि निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित हुने देखिएको सेनाले जनाएको छ । कोषको लगानीको रूपमा रहेको ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँमध्ये नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा रु २ अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा मात्रै १ अर्ब ६० करोड ६० लाख लगानी भएको छ । बहालवाला तथा भूतपूर्व सैनिक व्यक्ति र तिनका परिवारको हितको लागि बिमा, औषधोपचार, स्वास्थ्य, छात्रवृत्ति, आवास उपलब्ध गराउने तथा क्यान्टिन सञ्चालन गरिरहेको छ । विद्यालय तथा महाविद्यालय स्थापना गरी सञ्चालन गरिरहेको छ ।