
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको नेतृत्वमा नेपालका सांसदहरूको एक प्रतिनिधिमण्डल टोली चीन प्रस्थान गरेको छ ।
सान्सी प्रान्तमा आयोजना भएको गरिबी नियन्त्रण र दिगो विकास विषयक कार्यक्रममा सहभागि हुन राष्ट्रियभा र प्रतिनिधिसभाका गरि ५ सांसदसहित ८ जनाको टोली चीन उडेको हो ।
चीनको सरकारद्वारा आयोजना गरिएको गरिबी निवारण तथा दिगो विकास र नवौँ सिल्क रोड इन्टरनेशनल एक्स्पोजिसन कार्यक्रममा सहभागी हुन घिमिरेको नेतृत्वमा प्रतिनिधि सभाका सदस्य उर्मिला माझी र दिनेश कुमार यादव तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसाल र सुमित्रा विसी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमण दलमा संसद् सचिवालयका उपसचिव पुष्प प्रकाश खनाल, शाखा अधिकृत नवीन भट्टराई र उपाध्यक्षका निजी सचिव प्रेम बहादुर सिंह समेत रहेका छन् ।
सो प्रतिनिधिमण्डलले दुई वटा कार्यक्रममा सहभागिता जनाउनुका साथै चिनिया उच्च अधिकारीसँग भेटघाट तथा त्यस क्षेत्रका ऐतिहासिक र पर्यटकीय स्थलहरू तथा प्राविधिक कलेज र केही उद्योग तथा सिल्क रोड र हाईलस्पिड रेलवे स्टेसनको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
संसद सचिवालयका अअनुसार साताव्यापी भ्रमण सकेर सांसदहरुको टोली जेठ ११ गते स्वदेश फर्कनेछन् ।