Logo
Logo
ब्याङ्ग्य

केटी माग्न गएका लमी बेहुला बनेपछि…


19.8k
Shares

काठमाडौं । अन्ततः दुई महिनादेखिको बहुप्रतीक्षित रियालिटी शो ‘गभर्नर खोजी’ मंगलबार एकाएक टुङ्गियो । यो कुनै नाचगानको फाइनल होइन । एउटा रङ्गमञ्चको तमासा हो !

तमासाको फाइनल राउन्डमा तीनजना ‘रिङ’मा उत्रिए । विश्व पौडेल, निलम ढुंगाना र दिनेश भट्टराई । तर, यो कुनै खुला प्रतिस्पर्धा थिएन, फिक्सिङ फाइट थियो । स्क्रिप्ट पहिल्यै लेखिएको थियो, जुन कुरा घामजस्तै छर्लङ्ग छ ।

फाइनलमा विजयी भए– विश्व पौडेल । ढुंगाना र भट्टराई त रिङमा पस्न मात्रै पाए । फाइट नै नगरी हार स्वीकार गर्नुपर्यो ।

यस्तो स्थिति बन्नुमा दुई सुपरस्टार रेफ्री थिए, शेरबहादुर देउवा र केपी शर्मा ओली । उनीहरूको इसारामा रिङमा नाच्ने पात्रहरूबीच कसले उपाधि जित्ने भन्ने पहिल्यै फिक्स थियो । खेलमा उनीहरूले जे भन्यो त्यही हुनेथ्यो । त्यसैले खेल हेर्न पुगेका दर्शक झुक्किए । बिचौलिया रमाए । संविधान चाहिँ निदायो ।

तीन ‘सहायक रेफ्री’ विष्णु पौडेल, महाप्रसाद अधिकारी र पोषराज पाण्डेलाई पनि मैदानमा उतारियो । तर, तिनीहरू त नाममात्रका रेफ्री थिए । दुई सुपरस्टार रेफ्रीको तालमा नाच्ने कठपुतली !

विश्व पौडेल, जो सुरुमा रेफ्रीको भेषमा रिङ छेउमा उभिएका थिए । तर, एकजना सुपरस्टार रेफ्रीलाई आफ्नो वशमा पारे । जब खेलाडीहरू एक–एक ‘फाउल’ गर्दै बाहिरिए । रेफ्रीको जर्सी फुकालेर खेलाडीको जर्सी चोरेर मैदानमा पसे । र, म्याच फिक्सिङ गराएर ताज आफ्नो शिरमा सजाए ।

यो खेल बुझ्न गाह्रो भयो भने सरल भाषामा भनौँ- विश्व पौडेल सुरुमा लमी थिए । उनी साथीको लागि केटी माग्न गए । केटी राम्री थिइन्, खानदानी पनि । उनी लोभिए । त्यसपछि साथीलाई बाइपास गरेर बेहुला बन्नतिर लागे ।

साथीलाई पन्छाउन सफल पनि भए । र, उनी आफैँ जग्गेमा बसे । अहिले उनको हनिमुन पिरियड चलिरहेको छ । यस्तै अवस्थामा भन्नुपर्ने होला– चान्स पायो भने नेपालीले गर्छ !

विश्व बेहुला बनेको पहिलो पटक भने होइन । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पूर्वउपाध्यक्ष बनेर एकपटक बेहुला बनिसकेका व्यक्ति हुन् । त्यसपछि उनीले बिहे गर्ने प्रयास गरेका थिए । चितवन–१ मा केटी माग्न पनि गए । तर, त्यहाँ पत्याएनन् । रास्वपाका हरी ढकाललाई बेहुला बनाए । एमालेका सुरेन्द्र पाण्डे लोकोन्दे बन्दा विश्वचाहिँ जन्तीमै सीमित रहे ।

भनिन्छ– पालो घुमिरहन्छ । विश्वको पालो फेरि पनि घुमेर आयो । दोस्रो पटक बेहुला बन्ने अवसर जु¥यो । यसले अरूलाई पनि पाठ सिकाएको छ– हारेर पनि जितिन्छ, तर हार मान्नु हुँदैन ! यो जितमा विश्वलाई दाइ–भाउजुको आर्सीवाद छ । काँग्रेसीहरूको गफ छ– ‘हार्नु तर हार नखानु !’

कांग्रेसमा अहिले बिहे भोज छ । गीत घन्किरहेको छ– कता हिँडेको रेफ्री भएर ? लमी बनेर ? एमाले हेरेको हेर्‍यै । एमाले हेरेको हेरेको हेर्‍यै… ! … बेहुलो बन्न हिँडको हो रेफ्री भएर । लमी बनेर । ओली हेरेको हेर्‍यै। ओली हेरेको हेर्‍यै… !

भोजमा मिठा–मिठा पछि चल्छ । अरुको चर्चा पनि चल्छ । ¥याल काडेका होलान् भन्नेको पनि कमी छैन । जहाँ स्वर्णिम वाग्ले जोडिन्छन् । कुरा गर्छन्– ‘स्वर्णिमले त केटी माग्न नपाउँदा घरै छाडे, विश्वले जस्तै दाजु–भाउजूको स्याहार गरेको भए बिहे पक्का थियो !’

यदि तपाईँ चुनाव हार्नु भएको छ भन, निराश नहुनुहोस् । यहाँ हारेर पनि जितिन्छ । तर, सही व्यक्तिको मोबाइल नम्बर डायरीमा राख्न नबिर्सनुहोस् ! जसरी विश्वले आफ्नो डायरीमा दाजु–भाउजूको नम्बर राखेका थिए !

कांग्रेस बिहे भोजमा रमाउँदा एमालेको लागि ‘मनपरेको केटा जेठाजु’ भएको छ । धुरुधुरु रुन पनि सकिरहेका छैनन्, किनभने यो बिहे त एमालेकै कारण सम्भव भएको हो ।

विश्व नयाँ बेहुलाको रूपमा बल्ल घर भित्रिएका छन् । गाउँ–सहर, सबै ठाउँमा चर्चा छ । ससुराली गाउँलेले प्रश्नको वर्षा गर्छन्– ज्वाईंसापले कति कमाउनु हुन्छ ? पढाइ के हो ? कसको सिफारिसमा आएको ?

ससुरालीले पनि ‘ज्वाइँ राम्रो छ’ भन्नुपर्ने बाध्यता छ। किनकि आफ्नो पनि इज्जत जोगाउनु छ ! त्यो बाध्यता अहिले एमालेमाथि पनि छ । बेहुलाले पनि गफ दिएर आफूलाई ‘महान्’ देखाउनै पर्छ, नत्र सालीहरूले पनि हेप्छन् !

बिहे त भयो, तर बेहुलालाई ढुक्कले बस्ने फुर्सद छैन । बिहेको ऋण (अर्थतन्त्रको गाँठो) त छँदै छ, घर ‘ग्रे’ लिस्टमा छ, परिवार (जनता)लाई काम चाहिएको छ । ससुरालीका गुनासा पनि सुन्नुपर्छ । दाइ–भाउजूको गुण त तिर्नु छँदै छ । त्यसमाथि दाइजोको सही उपयोग गर्न चुनौती पनि छ । रेमिट्यान्स, वैदेशिक मुद्रा, मुद्रास्फीति यी सबै दाइजो हुन् ।

अब प्रश्न के छ भने– ‘के यो दाइजो उत्पादक काममा लगाउने कि यत्तिकै देखाएर गफ दिने ? उत्पादक काम गर्ने हो भने बेहुलाले खेत जोत्नुपर्छ, अन्न फलाउनु पर्छ, ज्वाइँ भएर फुलेर हिँड्न मात्र पाइँदैन ।

नत्र यो बिहे ‘बेपत्ता ज्वाइँ’को कथामा परिणत हुन्छ । भोज खानेहरू पनि पछुताउने छन् । ससुरालीले पनि भन्छ– कस्तो केटालाई छोरी दिइएछ ? नयाँ बेहुलालाई शुभकामना !

प्रतिक्रिया दिनुहोस्