
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका नेता समेत रहेका मन्त्री चौधरीको कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको घरमा चोरी भएको हो । चोेरी भएको उक्त घर बैशाख महिनादेखि बन्द रहेको थियो ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले राज्यमन्त्री चौधरीकी दिदी श्यामकुमारीले घरमा चोरी भएको निवदेन दिएको बताए । उनले बुधबार आफू सफाइका लागि घरमा पुग्दा चोरी भएको थाहा पाएको प्रहरीसमक्ष बताएकी छिन् ।
घरको ढोका (ग्रिल) फोडेर घरमा राखिएको नगद तथा झण्डै २० लाख पर्ने सुनचाँदीका गहना चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।