काठमाडौं । निजामती विधेयकबाट ‘कुलिङ पिरियड’ नराख्न लविङ गर्दै मुख्य सचिव र सचिवहरूले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई भेटेका छन्।
बिहीवार मुख्य सचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेका हुन्।

सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीले मुख्यसचिवसहितको टोलीले सभामुखलाई भेटेको पुष्टि गरे। भेटमा मुख्यसचिव अर्याल, संसद्का महासचिव पद्यप्रसाद पाण्डे र सचिवसहित करिब २० जना थिए। उनीहरूले दिउँसो १ बजेतिर सभामुखलाई भेटेका हुन्।
सचिवहरूको टोलीले निजामती विधेयकबाट कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन माग गरेको छ। निजामतीलाई मात्र लक्षित गरेर ल्याइएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थाले अन्याय भएको उनीहरूको दावी छ।
सभामुखलाई भेटेपछि सचिवहरूको टोलीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेको हो। गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेर उनीहरूले कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन माग गरेका थिए।














