Logo
Logo

अभियान मात्र होइन, अब समस्या समाधान पनि


शरद् रिजाल

2.3k
Shares

यसअघि तराई मधेस जागरण अभियान सकाएको प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र) फेरि शुक्रबारदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको छ । सरकारबाट बाहिरिएपछि पार्टी पुनर्निर्माण गर्ने भन्दै माओवादी नेताहरू निरन्तर अभियानमा जुटेका छन् । जनतासँग प्रत्यक्ष जोडिएर आत्मआलोचना गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पदाधिकारीहरू यस अभियानमा हिँडेका छन् ।

सुदूरपश्चिमका विभिन्न जिल्ला हुँदै माओवादी नेतृत्वको अभियान टोली अहिले कर्णाली प्रदेशमा प्रवेश गरेको छ । मध्यपहाडी लोकमार्ग आसपासमा रहेका पूर्वपश्चिमका सबै जिल्लाहरूमा पुगेर जनता र नेता कार्यकर्तासँग भेटघाट गर्दै अभियान अघि बढ्ने बताइएको छ । विगतका कमजोरीको गम्भीर आत्मसमीक्षा गर्दै जनतातर्फ फर्कने निर्णय बमोजिम यो अभियान सुरु गरेको माओवादीले जनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले अभियानका क्रममा ग्रामीण भेगका जनताले अझै पनि गणतन्त्रको अनुभूति गर्न नपाएको बताउने गरेका छन् । प्रचण्डले जनतामा अझैँ गणतन्त्र नआएको बताएपछि प्रचण्डको यस अभिव्यक्तिले उनीमाथि प्रश्न उठ्न थालेको छ ।

वर्तमान परिवर्तित राजनीतिको प्रमुख हिस्सेदार माओवादी नै हो । गणतन्त्रका खातिर सर्वाधिक बलिदानी र सङ्घर्ष गरेको पार्टी र त्यसको नेतृत्वले अझै पनि जनतामा गणतन्त्रको अनुभूति हुन नसकेको भनेर उनले आफ्नै कमजोरी उजागर गरेका छन् । प्रचण्डको यस अभिव्यक्तिले सिंगो माओवादी र मूलतः प्रचण्डको सत्ता केन्द्रित क्रियाकलापमाथि गम्भीर प्रश्न उठाएको छ ।

यस अभिव्यक्तिले प्रचण्डको आफ्नै असक्षमता पनि दर्साएको छ । उनी आफैँ यो व्यवस्था प्राप्ति र यसको सञ्चालनमा मुख्य हिस्सेदारी लिएका नेता हुन् । विगत २०६५ सालदेखि उनी र उनको दल निरन्तर सरकारमा छ । जनतालाई गणतन्त्रको अनुभूति व्यवहारतः दिलाउन सक्नुपथ्र्यो । त्यसो हुन नसक्नुमा प्रचण्ड स्वयम् पनि जिम्मेवार होइनन् र ? उनलाई यस अवधिमा जनताको पक्षमा काम गर्न कसले रोक्यो ?

सत्ता र शक्तिमा सधैँ रजगज गर्दै आएका उनले त्यस समयमा गणतन्त्रको अनुभूति दिलाउन राज्यस्तरबाटै के कति पहल गरे ? केके नीतिगत कार्यक्रमहरू ल्याए ? यसको गम्भीर समीक्षा उनले गर्न आवश्यक छ कि छैन ? यी यावत प्रश्नको जवाफबिना अब पनि प्रचण्डका हावादारी गफ जनताले पत्याउनेवाला छैनन् ।

प्रचण्डकै नेतृत्वमा दश वर्ष चलेको जनयुद्धले मुलुकको वर्तमान व्यवस्था प्राप्तिमा प्रमुख भूमिका खेल्यो तर त्यसयताका सत्ता यात्राले जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न सकेन । गणतन्त्रकालमा पनि उही पुरानै समस्या यथावत् रहेका छन् भने, अझै बग्रेल्ती समस्या थपिएर चाङ लागेका छन् ।

मुलुकको आर्थिक परनिर्भरता दिनानुदिन बढिरहेको छ । वैदेशिक ऋण तिर्नै नसकिने अवस्थामा पुगेको छ । विदेश पलायन दर कहालीलाग्दो छ । त्रिभुवन विमानस्थलबाट युवा बाहिरिएको दृश्यले जो कोहीको भक्कानो छुट्छ । देशमा सक्षम र दक्ष व्यक्ति कोही पनि बस्न चाहँदैन ।

यसको कारक को हो ? अझैँ पनि पुराना शासकलाई दोष लगाएर उम्किन मिल्छ ? यसको न्यूनीकरणमा तीन पटक सरकारको नेतृत्व गर्दा प्रचण्डको कस्तो भूमिका रह्यो ? यसको जवाफ बिना उनले अब समस्या देखाएर मात्रै कदापि छुटकारा पाउनेवाला छैनन् ।

अरूलाई दोषारोपण गरेर आफू सही बन्न खोज्नु आफ्नो कमजोरी लुकाउने कुचेष्टा मात्रै हो । अवसर पाएको समयमा आफ्नो दायित्व वहन नगर्ने तर पुरानो शासन प्रणालीलाई मात्रै दोष दिएर पन्छिने प्रवृत्ति गैरजिम्मेवारपनको पराकाष्ठा हो ।

देश अनेकौँ विकराल समस्याले थलिँदा पनि यसको समाधानमा प्रचण्डले कहिल्यै आवाज उठाएको सुनिँदैन । सधैँ सत्ताको म्युजिकल चियरमा व्यस्त रहेका उनी अब समस्या उठाएर मात्रै उन्मुक्ति पाउने स्थानमा छैनन् ।

हिजो आन्दोलनको चरणमा तिनै समस्या उठाएर त्यसको समाधानका लागि प्रतिबद्धता जनाएकाले नै जनताले साथ दिएका हुन् । आज समस्या समाधान गर्ने ठाउँमा पटकपटक पु¥याउँदा पनि उही पुरानै प्रवृत्ति दोहो¥याउँदा जनताले त्यस्ता अभिव्यक्ति किमार्थ विश्वास गर्नेवाला छैनन् ।

प्रतिपक्षमा रहँदा मात्रै जनताको आवश्यकता बोध गर्ने तर अपिछि आफ्नै सत्ता स्वार्थमा केन्द्रित रहने माओवादी नेतृत्वको प्रवृत्तिलाई जनताले नियालिरहेका छन् । देशका ज्वलन्त समस्या समाधानमा ध्यान केन्द्रित नगरेको नेतृत्वप्रति माओवादीका शुभेच्छुक जनता समेत रुष्ट छन् । उनीहरूलाई यही अभियानको माध्यमबाट मात्रै पुनः आश्वस्त तुल्याउन मुस्किल छ । पटक पटक जनताले अवसर दिँदा पनि परिणाम दिन नसकेको माओवादीलाई अब पुरानै आश्वासन र माफीले मात्रै गुमेको विश्वास फर्कने सम्भावना पनि छैन ।

मुलुकमा लामो सङ्घर्ष र बलिदानीको मानक स्थापित गरेको माओवादीले आफ्ना सहिद, घाइते, अपांग र बेपत्ता परिवारप्रति उत्तरदायित्व बहन गर्न सकेको छैन । १७ हजारले त्यस आन्दोलनमा आफ्नो ज्यान गुमाएका छन् ।

हजारौँ बेपत्ताको अवस्था अहिले पनि अज्ञात छ । उनीहरूको परिवारको दैनिक जीवन निकै कष्टप्रद छ । तर, यसतर्फ कुनै सरोकार नराखेर जतिसुकै अभियान सञ्चालन गरे पनि यसले कुनै सकारात्मक परिणाम दिनेवाला छैन ।

माओवादीले विगतका कमजोरीको गम्भीर समीक्षा गर्दै रूपान्तरित भएर जनता र कार्यकर्तासँग गरिएका प्रतिबद्धता कार्यान्वयनमा जुट्न आवश्यक छ । नेताले नारा दिने मात्रै होइन, त्यसको कार्यान्वयनमा पहलकदमी लिने प्रमुख दायित्व हो ।

प्रचण्डले सधैँ सत्ताबाट सत्तामै रहने नीति तय मात्रै तय गरे । तर, युद्धकलामा उठाएका जनमुखी एजेन्डा कार्यान्वयन गर्न सकेनन् । फेरि अहिले अनेकौँ अभियानका नाममा जनतामा पुगेर समस्या मात्रै देखाएर आफू चोखिने दाउमा लागेका छन् ।

क्रान्तिको नेतृत्व दाबी गर्नेले गणतन्त्रको सकारात्मक परिणाम दिएर अपनत्वबोध कायम गराउन सके मात्रै त्यसको सार्थकता कायम रहन्छ । अन्यथा, जनताले विकल्प खोज्न थाल्नेछन् । यस्तै कारणले जनता गणतन्त्रका बेथितिबाट आजित भएर पुरातन राजतन्त्रको पक्षमा उदार देखिन थालेका हुन् ।

मुलुकमा व्याप्त बेथितिको उपज जनतामा फैलिएको निराशालाई सम्बोधन नगरी त्यसको गुणगान गाएर मात्रै यसको रक्षा हुन सक्दैन । कांग्रेस एमाले भन्दा पृथक् इतिहास रहेको दाबी गर्ने माओवादीले व्यवहारमै ती दलभन्दा फरक देखाउन नसकेपछि नै पछिल्लो समय कमजोर बनेको हो ।

प्रचण्डले बारम्बार भन्ने गर्छन्– ‘हामी कांग्रेस एमालेको संगतले अलिअलि बिग्रियौँ ।’ उनले भनेजस्तै सामान्य बिग्रिएको मात्रै होइन, विगतका प्रतिबद्धतालाई नजरअन्दाज गर्दै पूर्णतः कांग्रेस एमाले जसरी सत्ता स्वार्थमा लागेर यो दुरावस्था निम्तिएको हो । यसलाई बाह्य आवरणमा टालटुले सुधार गरेर मात्रै अब जनता माओवादीप्रति विश्वस्त हुनेवाला छैनन् । व्यवहारतः पूर्णतया सच्चिएको प्रमाणित गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्