पोखरा । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र) ले एमाले र यसको नेतृत्वमाथि निरन्तर आक्रमण गरिरहेको आरोप लगाएका छन् । कास्कीमा राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

“हाम्रो पार्टी र नेतृत्वविरुद्ध अहिले जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ, त्यसको विश्लेषण गर्दा नेकपा माओवादी र तिनका कार्यकर्ताहरू सबैभन्दा आक्रामक रूपमा प्रस्तुत भएको पाइन्छ,” पोखरेलले भने । उनले माओवादीको मुख्य उद्देश्य नै नेकपा एमालेलाई कमजोर बनाएर समाप्त पार्नु रहेको दाबी गरे ।
महासचिव पोखरेलले वर्तमान सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गर्न प्रयास गरिरहेको बताए । उनले भने, “हाम्रा विरोधीहरूले गर्ने आलोचनाको अन्तर्य बुझ्न जरुरी छ। उनीहरूको ध्येय नेकपा एमालेलाई कमजोर र समाप्त पार्नु हो। यस्ता आलोचनाबाट हाम्रो पार्टी पङ्क्ति उद्वेलित हुनुहुँदैन ।”
पोखरेलले पार्टी कार्यकर्तालाई यस्ता आलोचनालाई गम्भीरतापूर्वक विश्लेषण गर्न र सङ्गठनलाई थप सुदृढ बनाउन लाग्न आह्वान गरे ।














