काठमाडौं । वैदेशिक रोजगारीको लागि लाटभिया र युएई पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ बस्ने, पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ घर भएका ५८ वर्षीय शन्तकुमार चेम्जोङ र काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ बस्ने, बाराको कोल्हवी नगरपालिका-२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् ।

शन्तकुमारले लाटभिया पठाइदिन्छु भन्दै एक पीडितबाट १२ लाख रुपैयाँ र विष्णुराजले युएई पठाउने बहानामा अर्का एक पीडितबाट ५ लाख ७३ हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले शन्तकुमारलाई आइतबार र विष्णुराजलाई शुक्रवार काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो ।
दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।














