Logo
Logo

नाम्खामा तीन हिमताल


189
Shares

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँको बाढी पहिराका कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलीले सो स्थानमा तीनवटा हिमताल रहेको निष्कर्ष निकालेको छ ।

यही जेठ १ गते गएको बाढीपहिराका कारण पत्ता लगाउन खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन जिओेलोजिस्ट शिवकुमार बास्कोटा नेतृत्वको तीन सदस्यीय टोलीले पाँच हजार तीन सय ५० मिटर उचाइमा तीनवटा हिमताल भेटिएको जनाएको छ । 

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी रहेका छन् ।

पहिरो आए लगत्तै स्थानीय हिमताल फुटेको ठाउँमा पुग्दा दुई वटा हिमताल फुटेको बताएका थिए तर आइतबार बिहान उक्त स्थानमा गएको टोलीले दुई वटा हिमताल नभई तीनवटा हिमताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले बताए ।

यही जेठ १ गते राति एक्कासि बाढी आउँदा नाम्खा गाउँपालिका–६ तिल गाउँमा ठूलो क्षति पुगेको थियो । बाढीले  १८ घरपरिवार विस्थापित भएका थिए । हिमालमा रहेका दुई वटा हिमपोखरीबाट चुहिएको पानीले बाढीको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्