
काठमाडौं । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।
आज प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै बोलेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले गृहमन्त्रीको राजीनामा मागेका हुन् । त्रिभुवन विमानस्थलमा भएको भिजिट भिसा प्रकरणमा राजनीतिक नेतृत्वको सहयोगविना सम्भव नरहेको उनले बताए ।
उनले भने, ‘विभिन्न बैठकमा उहाँ (लेखक) धेरै नैतिकताको कुरा उठाउनुहुन्छ । विभिन्न सुरक्षा, अनुसन्धान निकाय उहाँको मातहतमा छ । त्यसैले राजीनामा दिएर मार्ग प्रशस्त गर्दिनुस् । अहिले नै उहाँ दोषी भन्दैनौँ । नभए संसद् चल्दैन ।’
उनले ठूलो माछा को हो ? भन्दै प्रश्नसमेत गरे ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि अरुलाई नैतिकताको पाठ सिकाउने गृहमन्त्री आज आफैमाथि प्रश्न उठ्दा पदमा बसिरहन नपाउने भन्दै राजीनामा माग गरे ।
‘भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीलाई मात्र होइन, गृहमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ । उच्चस्तरीय छानबिन समिति बनाएर यस प्रकरणको छानबिन नगरे संसद् चल्न दिँदैनौं,’ उनले भने ।














