
चौथो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली यति निर्लज्ज, निरीह र अराजक बन्लान् भन्ने कुरा कसैले सोचेका थिएनन् । दोस्रो पटक नेपाली कांग्रेसको समर्थनमा दुई तिहाइको प्रधानमन्त्री बनेका ओलीबाट धेरैले सुशासनको अपेक्षा गरेका थिए । उनी आफैँले बेलाबेलामा ‘भ्रष्टाचारीको मुखै हेर्दिनँ, भ्रष्टाचारीलाई ठाउँको ठाउँ ऐयाँ, आच्छु पनि भन्न नपाउँदै कारबाही गर्छु’ भन्दै आएका थिए । प्रधानमन्त्रीको मुखबाट यस्तो शब्द निस्किएपछि पत्याउँदै प¥यो ।
तर, बिचरा ओलीलाई अहिले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरण ‘नखाउँ भने दिनभरको सिकार, खाउँ भने कान्छो बाउको अनुहार’ बनेको छ । भिजिट भिसा प्रकरणमा जो सुकै कर्मचारी पक्राउ परे पनि गृहमन्त्रीले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ । तर, सत्ता जोगाउन ओली देउवासामू निरीह बन्दा चौतर्फी आलोचनाको घेरामा परेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले सेटिङमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो मान्छे पठाएका थिए । त्यसको छानबिन अख्तियारले गरिरहेको बेला उनलाई चोख्याउने काम भएको छ ।
भ्रष्टाचारी तह लगाउन सुशासन आयोगको अध्यक्ष प्रधानमन्त्री आफैँ बनेका छन् । आफै मातहतका मन्त्रीहरूले भ्रष्टाचार गर्दा उनी ‘चु’सम्म बोल्न नसक्नु आफ्नो मुखमा आफैले कालोमोसो दल्नु हो । गृहमन्त्री लेखकमा त अलिकति पनि नैतिकता देखिएन, तर नैतिकताको ठूला ठूला भाषण गर्ने, जनतालाई सुशासनको ठूला ठूला गफ दिने ओली भ्रष्टाचारसामू यतिसम्म निरीह बन्लान् भन्ने कसैले सोचेका थिएनन् । सत्ताभन्दा ठूलो नैतिकता हो, अनैतिक व्यक्तिलाई सत्तामा बस्ने छुट हुँदैन भन्ने कुरा ओलीले बुझ्नुपर्छ ।
नैतिकताकै कुरा गर्दा प्रधानमन्त्री ओली विश्व पौडेलजस्ता अनैतिक व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न बाध्य भए । राष्ट्र बैंक ऐनले गभर्नर पदमा उँचो नैतिकता भएको व्यक्ति हुनुपर्ने भनेको छ । त्यसमाथि गभर्नर सिफारिस समितिमा बसेकै व्यक्तिलाई गभर्नर बनाउनु भनेको ओलीमाथि नैतिक प्रश्न हो । अर्को कुरा, राष्ट्र बैंक ऐनले कुनै पनि राजनीतिक दलसँग आबद्धता भएको व्यक्तिलाई गभर्नर बनाउन नहुने भनेर उल्लेख गरेको छ ।
तर, चितवन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेर हारेका पौडेललाई गभर्नर बनाउँदा प्रधानमन्त्री ओली स्वयंले राष्ट्र बैंकको ऐनको धज्जी उडाएका छन् । यस घटनाबाट ओली प्रधानमन्त्री होइनन्, देउवाका कारिन्दा हुन् भन्ने पुष्टि भएको छ । देउवाजस्ता अनैतिक व्यक्तिको कारिन्दा बन्नुभन्दा प्रधानमन्त्रीबाट राजीनामा दिएर बस्नु ओलीका लागि नैतिक विजय हुन जान्छ । हुन त नैतिकता नै नभएको नेताहरूलाई नैतिकताको पाठ पढाउनु आफै मूर्ख बन्नु हो ।
ओलीको यस्तै बोली र व्यवहारका कारण उनी त सामाजिक सञ्जालमा हाँस्यको पात्र बनेकै छन् । उनको बोली र व्यवहारले गणतन्त्रको समेत धज्जी उडेको छ । ओली कति कमजोर धरातलमा उभिएका रहेछन् भन्ने कुरा जेठ १५ गते राजावादीहरूको आन्दोलनले तर्सिएबाट स्पष्ट हुन्छ ।
शान्तिपूर्ण भेला हुन पाउनु हरेक नेपाली नागरिकको अधिकार हो, तर जेठ १५ गते राजावादीको आन्दोलन भाँड्न उनले जुन अभिव्यक्ति दिए, त्यसले राजावादीहरूलाई थप उत्तेजित बनाएको छ । चैत १५ गते शान्तिपूर्ण सभामा अश्रुग्यास प्रहार गरेर ‘राज्य आतंक’ मच्याएको सरकारले जेठ १५ गते के उपद्रो मच्याउने हो हेर्न बाँकी नै छ ।
सरकारको एकपछि अर्को उपद्रोले आम जनता व्यवस्थामाथि नै खनिने अवस्था सिर्जना भएको छ । त्यसमा ‘आगोमा घ्यू’ थप्ने काम सरकारले गर्दैछ । पक्कै पनि यस्तो उपद्रोले अनिष्ट निम्त्याउँछ, त्यसले व्यवस्था विरोधीलाई थप मलजल गर्छ भन्ने कुरा सरकारले बेलैमा बुझ्नुपर्छ । यस्तो मामिलामा राज्यपक्षले संयमता र धैर्यता अपनाउनुपर्छ । अन्यथा, राज्यपक्षकै कमजोरीले देश पुनः गृहयुद्धमा जाने खतरा बढ्छ ।











