Logo
Logo

संक्रमित भेटिएपछि अर्जुनधारा लक


- दृष्टि न्युज/संवाददाता


झापा, १८ साउन । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र (रातो घेरा) लकडाउन गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी)को शनिबार बसेको बैठकले आइतबार बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
केही दिनअघि अर्जुनधारा वडा नं १ का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाले सो निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए । उनले संक्रमित व्यक्तिसँग रहेकाहरूको कन्टयाक्ट ट्रेसिङ गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भनेर बन्दाबन्दी नै गरेको बताए ।
उनका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । तर सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन् भने त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ ।
मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने नपाउने उनको भनाइ छ । संघसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्यरूपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ । नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिसलगायतका सेवा बन्द गरिने नगरप्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिए ।
नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्