काठमाडौं । प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश देखकको राजीनामा नआएसम्म सदन चल्न नदिने निर्णय गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको बैठकले आफ्नो अडानबाट ब्याक नहुने निर्णय गरेको माओवादीका सांसद माधव सापकोटाले बताए ।
बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरु सहभागी थिए । बैठकमा राप्रपालाई भने बोलाइएको थिएन । राप्रपा पनि गृहमन्त्रीको राजीनामाको पक्षमा छ । विपक्ष दलको अवरोधबीच सत्तापक्षले भने आज गृहमन्त्रीलाई जवाफका लागि सदनमा उभ्याउने तयारी गरेको छ ।
गृहमन्त्रीसहित प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले गृहमन्त्रीले राजीनामा नदिने तर सदनमा बोल्ने निर्णय गरेको हो । तर, विपक्षीले गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ मागेको छ ।
बिहान ११ बजे बोलाएको प्रतिनिधिसभा बैठक अहिलेसम्म सुरू हुन सकेको छैन । बालुवाटारमा नेताहरुको छलफलका प्रतिनिधिसभा बैठक बस्ने ढिलाइ भएको हो ।